कांग्रेसभित्र बिमलेन्द्र निधिको ‘राजनीतिक पतन’

कांग्रेसभित्र बिमलेन्द्र निधिको ‘राजनीतिक पतन’


काठमाण्डु – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पार्टीभित्र सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा पुगेको अवस्थामा सभापति देउवा पक्षले केन्द्रीय कार्यसमितिमा स्पष्ट बहुमत ल्याउने भएको छ ।

सभापति तथा प्रधानमन्त्री देउवाले पार्टी र सरकारको नेतृत्व गरिरहेका बेला शक्ति कायमै राख्नुलाई स्वाभाविक मानिएको छ तर कांग्रेसभित्र देउवाको उत्तराधिकारीको रूपमा हेरिएका निवर्तमान उपसभापति बिमलेन्द्र निधिको भने राजनीतिक पतन भएको छ ।

देउवा पक्षमा रहँदा निधिलाई मधेशबाट राष्ट्रिय राजनीतिमा उदाएको नेतृत्वको रूपमा हेरिन्थ्यो तर महाधिवेशनमा देउवाविरुद्ध विद्रोह गर्दै सभापति पदमा उम्मेदवारी दिएका निधिले गतिलो प्रदर्शन गर्न सकेनन् ।

निधिको उम्मेदवारीले कांग्रेस सभापतिको चुनाव दोस्रो चरणमा प्रवेश गर्‍यो  तर त्यसको औचित्य पुष्टि हुन सकेन । निधिले ल्याएका २५० भोट पहिलो चरणमै देउवालाई गएका भए देउवा पहिलो चरणमै सभापति निर्वाचित हुने थिए तर निधिले भोट काट्दा देउवाले दोस्रो चरणमा जानुपर्‍यो ।

निधिले दोस्रो चरणमा देउवालाई नै समर्थन गरेकाले निधिको छुट्टै उम्मेदवारीको औचित्य पुष्टि भएन । निधिले देउवाविरुद्ध किन उम्मेदवारी दिए ? दोस्रो चरणमा देउवालाई नै किन समर्थन गरे ? यी प्रश्नले निधिलाई सदैव घेरिराख्नेछ ।

कतिपयले निधिले आफ्नो शक्ति देखाएको र देउवासँग सहमति गरेर दोस्रो चरणमा समर्थन गरेको अड्कलबाजी गरे । तर २ नम्बर प्रदेशमा जारी कांग्रेसको प्रदेश अधिवेशनले देउवा र निधिबीच कुनै सहमति नभएको देखायो । प्रदेश चुनावमा देउवा र निधिका छुट्टाछुट्टै प्यानल मैदानमा उत्रिएका छन् ।

केन्द्रको चुनावमा निधिले सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालालाई समर्थन नगरे पनि प्रदेशको चुनावमा डा. कोइराला पक्षले निधिका उम्मेदवारलाई समर्थन गरेको छ ।

देउवा गुटभित्र विद्रोह गरेर निधिले न पार्टीबाट देउवालाई विस्थापित गर्न सके, न आफू स्थापित भए । देउवा गुटभित्र हुँदा २ नम्बर प्रदेशमा सर्वमान्य नेता रहेका निधि विद्रोहपछि आफूपक्षीय कार्यकर्ता जोगाउने सकसमा परेका छन् । निधिले देउवा गुटले फेरि स्वीकार गर्ने अवस्था समेत नरहेको जानकारहरू बताउँछन् ।

नेतृत्व परिवर्तन अपरिहार्य भएको भन्दै मैदानमा उत्रिएका निधि र प्रकाशमान सिंहले अन्तिममा सभापति देउवालाई नै समर्थन गरेको कांग्रेस नेता कार्यकर्तालाई पचेको छैन । नवनिर्वाचित महामन्त्री गगनकुमार थापाले नै निधि र सिंहले देउवालाई समर्थन गर्नुको कारण बुझ्न नसकेको बताउने गरेका छन् ।

कांग्रेसभित्र देउवापछिको नेताका रूपमा अब उपसभापति पूर्णबहादुर खड्का उदाउने देखिएको छ । खड्का यसअघि महामन्त्री हुँदा समेत देउवाका विश्वासपात्र थिए । निधि टाढा भएसँगै देउवालाई खड्काले सघाउँदै आएका छन् ।