जनकपुर – प्रदेश २ को नामाकरणका लागि चारवटा नाम प्रस्ताव गरिएका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा प्रदेशका नामकरणका लागि चारवटा प्रस्ताव पेस भएका हुन् । जसमा ‘मधेस प्रदेश’, ‘जानकी’, ‘मध्यमधेस’ र ‘मिथिला भोजपुरा’ रहेका छन् ।
बिहीबारको बैठकमा जनता समाजवादी पार्टी (जसपा) का शैलेन्द्रकुमार यादव र माओवादी केन्द्रका अध्यक्ष भरत साहले मधेश प्रदेश नाम प्रस्ताव गरेका थिए । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद रानी तिवारीले सो नाममा समर्थन गरेकी थिइन् ।
नेकपा एकीकृत समाजवादीले भने जानकी प्रदेश प्रस्ताव गरेको छ । कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले भने जानकी प्रदेश प्रस्ताव गरेका छन् । उनी नेकपा एकीकृत समाजवादीका हुन् । नेपाली कांग्रेसको तर्फबाट शिवचन्द्र चौधरीले मिथिला भोजपुरा नाम प्रस्ताव गरेका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका सांसद राजेश्वर प्रसाद साहले मध्यमधेश नाम प्रस्ताव गरेका छन् । संविधानको धारा २९५ (२) अनुसार प्रदेश सभाको दुई तिहाइ बहुमतले प्रदेशको नामाकरण गर्न सक्ने व्यवस्था गरेको छ ।
१०४ सदस्यीय प्रदेशसभामा जनता समाजवादी पार्टीका ३९, नेपाली कांग्रेस १९, लोकतान्त्रिक समाजवादी पार्टीका १६ र माओवादी केन्द्रका ८ सांसद छन् । एकीकृत समाजवादीका १३ सांसद रहेका छन् ।
प्रदेशसभाबाट नाम पारित हुन प्रदेशसभाको दुई तिहाइ अर्थात ६९ सांसदको समर्थन आवश्यक पर्छ । एमालेका ८ जना प्रदेश सांसदमध्ये एकजना पनि उपस्थित नभएकाले सो दलबाट नामको प्रस्ताव आज पेस हुन सकेन ।




प्रतिक्रिया