काठमाण्डु – एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने बारे सत्ता गठबन्धन मै विवाद भएपछि कार्यदल बनाएर अध्यन थालिएको छ ।नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले अहिले अध्यन गरिरहेको छ । अध्यन कार्यदलमै रहेका माओवादी नेता नारायणकाजी श्रेष्ठका अनुसार अहिले अध्ययन भइरहेको छ ।
अहिले अध्यनका लागि सामाग्री जुटाउने काम बाहेक केही नभएको श्रेष्ठले बताए । एमसीसी दलहरुका लागि सत्ता बार्गेनिङको अस्त्र बन्न थालेको छ । आफ्नै पालामा सम्झौता भएकाले कांग्रेस जसरी पनि पास गराउने पक्षमा छ भने गठबन्धनमै रहेका अन्य दलहरु यसलाई संसोधनबिना पास गर्न नुहने पक्षमा छन् ।
कांग्रेस बाहेक सबै विपक्षमा
गठबन्धनको प्रमुख घटक कांग्रेस मात्रै एमसीसी जसरीपनि पास गर्ने पक्षमा रहदा गठबन्धनमै रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा भने यथास्थितिमा पास गर्न नहुने अडानमा छन् । माओवादीका प्रमुख सचेतक देव गुरुङले एमसीसी कुनै पनि हालतमा संसोधन नभई पास नगर्ने अडानमा माओवादी रहेको बताए ।
उनले भने ‘एमसीसी हुवहु पास गर्ने पक्षमा माओवादी केन्द्र छैन । यसअघि नेकपा छदा नै झलनाथ खनाल जीको नेतृत्वमा कार्यदल बनेको थियो, उक्त कार्यदलले सुझाव पनि दिएको थियो । सोही अनुसार अघि बढ्नुपर्ने हाम्रो माग छ । कस्तो अचम्मको कुरा उनिहरुले चाहे जतिपनि संसोधन गर्ने नेपालले भनेको बिषयमा संसोधन गर्न नहुने ? यस्तो पनि हुन्छ ?’
उनले राष्ट्रभन्दा माथी गठबन्धन नभएकाले एमसीसी जवरजस्ती गरे गठबन्धन तोड्न सकिने संकेत गरे । यता नेकपा एसका नेता सोम प्रसाद पाण्डेले पनि एमसीसी यथास्थितिमा पास गर्ने पक्षमा नरहेको प्रतिक्रिया दिएका छन् । उनले अध्यन कार्यदलको सुझाव अनुसार अघि बढ्ने बताए । यता नेपाली कांग्रेस भने कुनै पनि हालतमा एमसीसी पास गर्नुपर्ने भन्दै छलफल अघि बढाएको छ ।
नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी पास गर्नु सरकारको जिम्मेवारी भएको बताउंछन् । उनि भन्छन् ‘यो सम्झौता भएको धेरै भयो यसअघि बनेका सरकारहरुले पनि यो पास गर्नुपर्ने बताउदै आएका थिए अहिलेको सरकारले त्यो जिम्मेवारी पुरा गर्नुपर्छ ।’ एमसीसी अमेरिकी सैन्य रणनीतिसंग जोडिएको बिषय भएको भ्रम जनतामा रहेको छ । स्थानिय तहको निर्वाचन पनि नजिकिएकाले यि दलहरु निर्वाचनमा जोखिम मोल्न चाहदैनन् ।
गठबन्धन तोड्ने एमालेको दाउ
हिजो सरकारमा रहंदा एमसीसीको पक्षमा उभिएको एमाले सत्ताबाट बाहिरीएसंगै मौन छ । आफ्नै पार्टी फुटेपछि सरकारबाट बाहिरिएको एमालेले यो गठबन्धनलाई नाजायज भनिरहेको छ । हिजो आफुसंग विद्रोह गरेकाहरुको यो गठबन्धनलाई भत्काउन कुनै कसर बाँकी राखेको छैन । एमसीसीले गठबन्धनमा बढाएको मतभेदलाई एमालेले झनै चर्काउन खोजेको देखिन्छ ।
गठबन्धन तोडे एमसीसी पास गर्न कांग्रेसलाई सघाउने ललिपप कांग्रेसलाई देखाइसकेको छ । एमालेका नेता शेरबहादुर तामाङ भन्छन् ‘सत्ता गठबन्धन तोडेर अर्लि इलेक्सनमा गए हामी कांग्रेसलाई सहयोग गर्न तयार छौ।’ एमालेको ग्रिन सिंनलमा कांग्रेस हिडे भोलीका दिनमा राजनितिक परिदृश्य नै फेरिने विश्लेषकहरु बताउंछन् ।




प्रतिक्रिया