बन्दसत्रमा प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश

बन्दसत्रमा प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश


काठमाण्डु – नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति प्रतिवेदन पेश गरेका छन् ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका हुन् । बन्द सत्रमा नेपाली विशेषतासहितको समाजवादी मोडलको राजनीतिक प्रतिवेदन पेश गरिएको हो ।

अध्यक्ष प्रचण्डले विभिन्न सात बुँदामा ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका हुन् ।

स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान संशोधन प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ । बन्द सत्रमा राजनीतिक प्रतिवेदन र विधान पेश भइसकेपछि समूहमा छलफल हुनेछ ।

अध्यक्ष प्रचण्ड र नेता गुरुङको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गर्नका लागि संयोजक र सहसंयोजकको व्यवस्था गरिनेछ । समूहका संयोजकले आफ्नो समूहमा उठेका विषयलाई बन्द सत्रको हलमा प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

ती प्रतिवेदन पारित गरेपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । त्यसका लागि विष्णुपुकार श्रेष्ठ अध्यक्ष रहेको निर्वाचन आयोगले पनि आवश्यक काम सुरु गरिसकेको छ ।

जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ । आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ ।