काठमाण्डुु – राष्ट्रिय (प्रजातन्त्र पार्टी) का नेता तथा लनटेनिसका दिग्गज खेलाडी कमल थापा हाल राजनीतिक प्रतिस्पर्धाबाट निस्केर खेलकुदको प्रतिस्पर्धामा व्यस्त छन् । पोखरामा जारी लन टेनिस प्रतियोगितामा भिडिरहेका उनी आज सेमिफाइनलमा पराजित भएका हुन् ।
पोखरा रंगशालामा जारी १८ औं पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताअन्तर्गत ५५ वर्ष उमेर समूहको सेमिफाइनलमा उनलाई पूर्वराष्ट्रिय च्याम्पियन कृष्ण राईले पराजित गरेका हुन् । यसअघि उनले एकैदिन दोहोरो जित निकालेका थिए । सिंगल्स र डबल्स दुवै इभेन्टमा जित हासिल गरेपछि उनको सेमिफाइनलमा स्थान सुरक्षित भएको थियो ।
सेमिफाइनल हारेपछि थापाले फेसबुकमा ‘लाक्षणिक’ अभिव्यक्ति दिएका छन् । आफूलाई हराएका राईलाई बधाई दिँदै उनले लेखेका छन्, ‘स्वस्थ प्रतिस्पर्धामा हारजित सामान्य र स्वभाविक हो ।’ राप्रपा अध्यक्षको चुनावमा हारेयता आक्रोशित प्रतिक्रियाहरू दिइरहेका थापामाथि प्रतिस्पर्धाको परिणामलाई सहजरूपमा ग्रहण गर्न नसकेको आरोप लाग्दै आएको छ ।




प्रतिक्रिया