काठमाण्डु – नेकपा माओवादी केन्द्रकाे नवनिर्वाचित केन्द्रीय समितिकाे पहिलाे बैठक आज बस्ने भएको छ । बैठक साेमबार अपराह्न ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ ।
माओवादीकाे आठाैँ महाधिवेशनले केन्द्रीय समिति घाेषणा गरिसकेकाे छ । बैठकले १५ सदस्यीय पदाधिकारी चयन गर्ने जनाइएको छ । विधानअनुसार माओवादी केन्द्रमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष रहने छन् ।
माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ । सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ । हालसम्म अन्य नेताले अध्यक्षमा दावी गरेका छैनन्, त्यसैले अध्यक्षमा प्रचण्ड नै दोहोरिने पक्कापक्की छ । वरिष्ठ नेतालाई उपाध्यक्षमा समेट्न लागिएको छ जसमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना छ । महासचिवमा पनि विभिन्न नेताहरूले दावी गरेका छन् ।
आठौंँ महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए जसलाई हलले पास गरेको थियो । त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो ।




प्रतिक्रिया