काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) की नेतृ तथा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गृहजिल्ला गुल्मीमा पिर्के सलामी लिएको विषयको अहिले चर्को आलोचना भइरहेको छ । गुल्मीको मदाने गाउँपालिकास्थित पुर्कोट दहमा रहेको इलाका प्रहरी कार्यालयले मन्त्री झाँक्रीलाई सलामी अर्पण गरेको विषयलाई लिएर सामाजीक सञ्जालमा आलोचना भएको हो । मन्त्री झाँक्रीले सलामी लिएको तस्बीर सार्वजनीक भएपछि उनको चर्को आलोचना भइरहेको छ । विगतमा स्थानीय तहका पदाधिकारीले ‘पिर्के सलामी’ लिएको विषयमा चर्को विरोध गर्दै आएकी उनी आफैँले ‘पिर्के सलामी’ लिएकी छन् ।
सामाजीक सञ्जालमा झाक्रीको चर्को आलोचना भएपछि उनले त्यो विषयमा बोलेकी छन् । उनले आफ्नो पदको हैसियतले पिर्के सलामी लिएको दावी गरिन् । झाँक्रीले भनिन्, ‘सलामी नलिएर झण्डा, आर्मी, प्रहरी छाडेर हिँडौँ त ? म असान्दर्भिक हो र ? असान्दर्भिक व्यक्तिले लिएको त होइन । मैले मान्छे मारेको हो र ? मान्छेले माला लगाइदिन्छन्, खादा लगाइदिन्छन् । मचाहिँ त्यो सबै छाडेर, सबै मानिसलाई बेखुशी बनाइदिएर हिँड्न सक्छु र ?’
उनले यो विषयलाई लिएर आलोचना हुन्छ भनेर पहिले नै आफूलाई थाहा भएको पनि बताइन् । ‘हामीलाई सामाजिक सन्जालमा आलोचना हुन्छ भन्ने पनि थाहा थियोे । तर, यो कुनै आलोचना विषय भने हैन,’ विज्ञप्तिमा भनिएको छ, ‘कानुनअनुसार राज्यको एउटा अगंले विशिष्ट व्यक्तिलाई आफ्नो कार्यालय परिसरभित्र दिने सम्मानको सामान्य प्रक्रिया हो ।’
आफूहरु विभिन्न कार्यक्रममा सहभागी हुनका लागि पाँच दिनदेखि गृहजिल्लामा रहेको र त्यसै क्रममा मदाने गाउँपालिकाको पुर्कोटदहस्थित इलाका प्रहरी कार्यालय निरीक्षण गर्न गएको विज्ञप्तिमा भनिएको छ । ‘कार्यालय परिसरभित्र संघीय सरकारको मन्त्री हैसियतमा प्रवेश गर्दा संविधान,कानुन अनुसार सम्मान स्वरूप सलामी दिने प्रचलन रहेछ,’ त्यहाँ भनिएको छ, ‘आफ्नो परिसरभित्र प्रवेश गर्ने विशिष्ट व्यक्तिलाई सम्मान दिनु प्रहरीले आफ्नो कर्तव्य ठान्ने रहेछ ।’ आफूहरुसँग दुईवटा विकल्प भएको र मन्त्रीको भावनात्मक सम्बन्ध पनि भएकाले पहिलो विकल्प रोजेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।




प्रतिक्रिया