जाजरकोट- जाजरकोट–जुम्ला जोड्ने सुरुङमार्ग निर्माण हुने भएको छ । जाजरकोटको कुशे गाउंपालिका–८ साङ्टा र जुम्लाको तातोपानी गाउंपालिका–८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माण हुने भएको हो । यसका लागि सम्भाव्यता अध्ययनका लागि सडक विभागको गुणस्तरीय खोज तथा विकास केन्द्र(क्यूआरडिसी)ले सूचना जारी गरिसकेको छ ।
सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि सडक विभागले बोलपत्र आह्वान गरिसकेको र अध्ययन सकिएपछि सुरुङमार्ग निर्माण अघि बढ्ने पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताए ।
‘सुरुङमार्ग निर्माण तथा नयां सडकको ट्रयाक खोल्नका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको हो’, उनले भने , ‘जाजरकोट र जुम्ला जोड्ने सबैभन्दा छोटो सुरुङ हुने भएकाले खन्ने कामलाई अध्ययन सकिनेबित्तिकै अघि बढाइने छ ।’
जाजरकोट साङ्टाबाट र जुम्लाको इमिल्चाघारीसम्मको लम्बाइ करिब १० किलोमिटर छ । सुरुङ निर्माणका लागि करिब पांच किलोमिटर पहाड प्वाल पार्नुपर्ने र अन्य क्षेत्रमा सडक निर्माण गर्नुपर्ने पूर्वमन्त्री बस्नेतले बताए ।
‘हामीले सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि विगतदेखि नै नेपाल सरकारसँग माग गर्दै आएका थियौं ’, नेकपा (माओवादी केन्द्र) का नेता तथा प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले भने। ‘ सम्भाव्यता अध्ययनका लागि सडक विभागले सूचना नै जारी गरिसकेको छ । ’ जाजरकोटबाट जुम्ला जान करिब १० घण्टा उकालो हिंड्नुपर्छ । सुरुङमार्ग निर्माण भए ३० मिनेटमै जुम्ला जान सकिने सिंहले बताए । -रासस




प्रतिक्रिया