काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा ऐन विपरित जाने मेडिकल कलेजहरुलाई कानुनी कारवाही गर्ने चेतावनी दिएका छन् । भक्तपुरस्थित काठमाण्डु मेडिकल कलेज(केएमसी) को अनुगमनका लागि पुगेका मन्त्री पौडेलले केएमसीको शुल्क विवादबारे जानकारी लिएका थिए ।
उनी आज बिहान भक्तपुर दुवाकोटस्थित केएमसी कलेजको अनुगमनका लागि भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित पुगेका थिए । मन्त्री पौडेलले सरकारले तोकेभन्दा अतिरिक्त शुल्क मागेको भन्दै मेडिकल कलेजका विद्यार्थीको गुनासो सम्बोधन गर्न कलेजका प्रधानाध्यापक रविन्द्र श्रेष्ठलाई निर्देशन दिएका छन् ।
उनले भने, ‘चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिइयाे भन्ने विद्यार्थीको कम्प्लेन छ । उक्त गुनासो सार्वजनिक रुपमा र मन्त्रालयमा पनि आएको छ । तोकिएको भन्दा बढी लिएको भन्ने आएकोले त्यसो भएको हो कि होइन ? तोकिएको भन्दा बढी नलिने प्रस्ट रुपमा ऐनमा व्यवस्था छ ।’
यता प्रधानाध्यापक श्रेष्ठले आफूहरुले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क नलिएको मन्त्रीसमक्ष दाबी गरे । तोकिएको शीर्षक भन्दा बढी शुल्क लिएको पाइए कानुन बमोजिम कारबाही गर्ने अधिकार गृह मन्त्रालयलाई रहेकोले वार्ताबाट समस्या समाधान गर्न मन्त्रीले सुझाव दिए ।
यस्तै मन्त्री पौडेलले विद्यार्थी र कलेज प्रशासनबीच छलफल गराउन पमुख जिल्ला अधिकारी शर्मालाई निर्देशन दिएका छन् । काठमाण्डु मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले केहीदिन अगाडिदेखि प्रदर्शन गरिरहेका छन् । आन्दोलनरत विद्यार्थीलाई कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत विभिन्न पार्टीमा आबद्ध विद्यार्थी संगठनहरुले सहयोग गरिरहेका छन् ।




प्रतिक्रिया