काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । भारतमा हुने भनिएको ‘दशौं भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित भएपछि देउवाको भरात भ्रमण पनि स्थागित भएको हो ।
कोरोना भाइरसको संक्रमण बढेको भन्दै भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित भएपछि प्रधानमन्त्री देउवा भारत भ्रमणमा नजाने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
‘ओमीक्रोन र कोरोनाको अर्को लहर आउन थालेपछि भाइब्रेन्ट गुजरात समिट स्थगित भएको खबर आएको छ’, देउवाले भने, ‘यससँगै तत्काललाई प्रधानमन्त्रीको भारत भ्रमण पनि स्थगित गर्ने निर्णय भएको छ ।’
प्रधानमन्त्री देउवाले भाग लिने ‘दशौं भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ कोरोना भाइरसको संक्रमणका कारण स्थगित भएको छ । जनवरी १० देखि जनवरी १२ सम्म सम्मेलन आयोजना गर्ने तयारी थियो । प्रधानमन्त्री देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित आइतबार गुजरात जाने तयारीमा थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुस २६ मा उद्घाटन गर्ने भनिएको समिटमा देउवाले पनि सम्बोधन गर्ने कार्यक्रम तय भइसकेको थियो । भ्रमणका क्रममा भारतीय समकक्षी मोदीसँग देउवाले भेटवार्ता गर्ने कार्यक्रम रहेको थियो ।




प्रतिक्रिया