काठमाण्डु – नेकपा माओवादीको पदाधिकारी चयन केही दिन पछाडी सर्ने भएको छ । ८ औ महाधिवेशनले अध्यक्ष मात्र चयन गरेर पदाधिकारी चयन गर्ने जिम्मा केन्द्रयि कमिटीलाई दिएको थियो ।
अध्यक्षपछिका बाँकी पदाधिकारी चयन गर्न यही पुस २५ गतेका लागि बैठक बोलाइए पनि नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगन गरिएको छ ।
पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा सहभागी १५ नेता बिरामी परेकाले आगामी २५ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगन गरिएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । बिरामीमध्ये ९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक राष्ट्रिय सभा निर्वाचनपछि मात्र बस्ने सम्भावना रहेको ढकालले बताए । पदावधि पूरा भएर राष्ट्रिय सभाका १९ सदस्य बिदा हुन लागेकाले तिनमा पदपूर्तिका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।
पुस ११–१८ मा सम्पन्न आठौं महाधिवेशनले माओवादी केन्द्रको २ सय ४६ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । अब वरिष्ठ उपाध्यक्षसहित ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष चयन गर्न बाँकी छ ।




प्रतिक्रिया