काठमाण्डु – सरकारले पछिल्लो समय ओमिक्रोन भेरिएन्ट संक्रमण बढ्न थालेपछि अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
शुक्रबार २४ जनामा ओमिक्रोन भेरिएन्टको सङ्क्रमण भेटिएपछि त्यसको रोकथाम र नियन्त्रणका लागि सबै अस्पताललाई तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको हो ।
‘ओमिक्रोनले गर्दा हुनसक्ने अत्यधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यकपर्ने अक्सिजनलगायत अन्य सामग्रीको यथेष्ठ जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ’, मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राद्वारा आज यहाँ जारी विज्ञप्ति भनिएको छ ।
साथै मन्त्रालयले सीमानाकाहरुमा कडाई गरिएको जनाएको छ । ‘सीमानाकामा कोभिड–१९ को परीक्षणलाई थप सशक्त बनाउने तथा पोजेटिभ आएका केशलाई आइशोलेसनमा राख्ने व्यवस्था गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
मन्त्रालयले एस–जिन स्क्रिनिङ गर्न वीर, निजामती कर्मचारी, वीरेन्द्र सैनिक, त्रिवि शिक्षण र भेरी अस्पताल र प्रदेश नं २ प्रदेश जनस्वास्थ्य प्रयोगशालामा व्यवस्था गरिएको जनाएको छ । ओमिक्रोनका कारण अत्यधिक मात्रामा कोभिड–१९ को सङ्क्रमण बढ्ने सम्भावना रहेको जनाउँदै मन्त्रालयले सबैलाई थप सजगता अपनाउन आग्रह गरेको छ ।
आज कोरोना भाइरसको नयाँ भेरियेन्ट ओमिक्रोन २४ जनामा पुष्टि भएको थियो । दुईसय ५० जनामा परीक्षण गर्दा उनीहरुमा उक्त भेरियेन्ट सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यही पुस महिनामा एक हजार १४६ जनामा गरिएको परीक्षणमा २५० जनामा एस–जिन नेगेटिभ भेटिएको हो । ती नेगेटिभ देखिएकाका २४ नमूनाको जिन स्क्रिनिङ गर्दा सबैमा सङ्क्रमण पुष्टि भएको हो ।




प्रतिक्रिया