माओवादी महाधिवेशनबाट फैलियो कोरोना, प्रचण्डलगायत अधिकांश नेतामा संक्रमण पुष्टि

माओवादी महाधिवेशनबाट फैलियो कोरोना, प्रचण्डलगायत अधिकांश नेतामा संक्रमण पुष्टि


काठमाण्डु – नेकपा माओवादी केन्द्रका अधिकांश नेता तथा कार्यकर्ताहरु कोरोना संक्रमित भएका छन् । पार्टीको आठौं महाधिवेशनबाट फर्किएका प्रायः सबै नेता कार्यकर्तामा कोराना लक्षण पुष्टि भएको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत महाधिवेशनबाट फर्किएकाहरु धमाधम अस्वस्थ हुन थालेपछि माओवादीको केन्द्रीय समिति बैठकलगायत सबै गतिविधि बन्द भएका छन् ।

माओवादी केन्द्रीय कार्यालय सिल गरिएको भोलिपल्टै अध्यक्ष प्रचण्डमा लक्षण देखिएको थियो । प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठमा संक्रमण पुष्टि भइसकेको छ । शुक्रबार साँझ पिसिआर परीक्षण गर्दा प्रचण्डमा कोभिड पोजेटिभ पाइएको उनको निजी सचिवालयले जानकारी दिएको छ ।

प्रचण्ड अहिले आफ्नै निजी निवासमा होम आइसोलेसनमा छन् । प्रचण्डसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन पनि उनको निजी सचिवालयले भनेको छ । प्रचण्डले दुई दिन अघि देखिनै भेटघाट बन्द गरेका थिए । त्यस्तै नेता श्रेष्ठले पनि सामाजिक सञ्जालमार्फत आफु कोरोना संक्रमित भएको जानकारी दिएका छन् ।

यस्तै केन्द्रीय सदस्य सुवोध श्रीर्पाली, प्रचण्डकै स्वकीय सचिव रमेश मल्ल, वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा, वाइसिएल अध्यक्ष सुमन देवकोटा, वागमती प्रदेश अध्यक्ष प्रकाश पाण्डे, अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंह, हरिबोल गजुरेल, मात्रिका यादव, डोरप्रसाद उपाध्याय लगायत माओवादीका अधिकांश नेताहरु कोरोना संक्रमित बनेका हुन् ।

मुख्यसचिव श्रीराम ढकाल शिव खकुरेल बाहेक केन्द्रीय कार्यालयका सबैलाई कोरोना संक्रमण भएको हो । माओवादीको महाधिवेशन यहि पुस ११ देखि १८ गतेसम्म काठमाण्डुको प्रज्ञा भवनमा चलेको थियो ।

पर्याप्त स्वास्थ्य मापदण्ड पालना हुन नसक्दा देशभरबाट १७४२ जना प्रतिनिधि सहभागी भएको माओवादीको राष्ट्रिय महाधिवेशन स्वास्थ्यका दृष्टिकोणले महँगो सावित भएको छ ।