भारतमा संक्रमण बढेसँगै नेपालमा जोखिम बढ्योः स्वास्थ्य मन्त्रालय -यापिड एक्सनको तयारीमा

भारतमा संक्रमण बढेसँगै नेपालमा जोखिम बढ्योः स्वास्थ्य मन्त्रालय -यापिड एक्सनको तयारीमा


काठमाण्डु – नेपालमा कोरोना संक्रमणदर बढ्न थालेको छ । संक्रमण बढ्न थालेसंगै सरकारले पनि सतर्कता अपनाउन आग्रह गरेको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दर बढेसँगै नेपालमा पनि त्यसको असर परेपछि सरकारले नागरिकलाई सतर्क रहन आग्रह गरेको हो ।

सरकारले संक्रमणको असर कम गर्न रोकथाम तथा नियन्त्रणको तयारी अपनाउन थालेको छ । गत २४ घण्टामा देशभर एकैदिन ९६८ संक्रमित थपिएका छन् । यो संख्या नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएपछिकै सबैभन्दा धेरै हो । २ सयदेखि ३ सयको बिचमा रहेको संक्रमितको संख्या गएको चार दिनदेखि ह्वात्तै बढेको छ । तर ओमिक्रोन भेटिएको यो एक महिनामा मृतकको संख्या भने स्थिर देखिन्छ ।

नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट मंसिर २० गते दुई विदेशी नागरिकमा पुष्टि भएको थियो । ओमिक्रोन संक्रमण भएका व्यक्तिहरुमा डेल्टा भेरियन्टको तुलनामा अस्पताल भर्ना हुने जोखिम कम भए पनि सचेत नभएको खण्डमा यसको उच्च संक्रमण दर खतरनाक हुनसक्ने विज्ञहरु बताउँछन् । खोप लगाएका, कोरोना संक्रमण हालसम्म नभएका तर गम्भीर खालका रोग लागेकालाई ओमिक्रोन भेरियन्ट संक्रमण भएको खण्डमा घातक हुन सक्ने संक्रामक रोग विशेषज्ञ डा. अनुप बास्तोलाको भनाइ छ ।

सतर्कता अपनाउन आग्रह

कोरोना संक्रमणबाट जोगिन स्वास्थ्यका मापदण्ड अपनाउन सरकारले सबैमा अपिल गरेको छ । कोभिड— १९ संकट व्यवस्थापन केन्द्रको बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्यका मापदण्ड अनिवार्य अपनाउन आग्रह गरेका छन् । संक्रमण क्षमता उच्च रहेको सो भेरियन्ट फैलने क्रम तीव्र रहेकाले आगामी २ सातामा संक्रमण भयावह बन्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकलन छ ।

संक्रामक रोग विशेषज्ञ डा .अनुप वास्तोलाले कोरोनाको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । ‘अहिलेको अवस्था हेर्दा छिमेकी राष्ट्र भारतमा संक्रमितको संख्या बढिरहेको देखिन्छ त्यसको प्रभाव नेपालमा पनि देखिन्छ । यो भाइरस मान्छेबाटै सर्ने भएकाले यात्रा गर्दा एक ठाँउबाट अर्को ठाउमा सर्ने स्वभाविक हो । अबको दुई हप्तापछि नेपालमा संक्रमण बढ्न सक्छ’ उनले भने ।

मन्त्रालयको -यापिड एक्सन

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार भारतमा संक्रमण बढेसँगै नेपालमा पनि जोखिम बढेकाले मन्त्रालय अहिले -यापिड एक्सनको तयारीमा जुटेको छ । स्वास्थ्य मन्त्रालयले सीमा नाकाका प्रवेश स्थलमा प्रोटोकल अनुसार परीक्षण तथा व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ । यस्तै, जोखिम क्षेत्र (हटस्पट) पत्ता लगाइ एन्टिजेन परीक्षणको दायरा बढाउन प्रदेश, जिल्ला, स्थानीय तहलाई निर्देशन दिइसकेको छ ।

पहिचान भएका संक्रमितका लागि आइसोलेशन उपचार व्यवस्थापनका लागि निर्देशन दिनुका साथै कोरोना परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङ गर्न, खोप लगाउन छुटेका लक्षित समूहको पहिचान तथा कोरोनाविरुद्धको खोप प्रयोगमा वृद्धि गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । होम आइसोलेशन र क्वारेन्टिनमा बसेकालाई जनस्वास्थ्य मापदण्ड फलो गर्न तथा जनस्वास्थ्यका मापदण्डबारे निगरानी गर्न समेत स्वास्थ्य मन्त्रालय निर्देशन दिएको छ ।