काठमाण्डु – पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्या भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नै खत्तम पार्न खोजेको बताएका छन् ।
चन्द्रदेव जोशीद्वारा लिखित पुस्तक माक्र्सवाद र विश्व कम्युनिष्ट आन्दोलनको शनिबार काठमाण्डुमा विमोचन गर्दै उनले आफैले खडा गरेका राज्यका मुख्यमुख्य संस्थाहरुलाई पौष्टिक आहार दिएर मजदुत बनाउनुको सट्टा राष्ट्रपति भण्डारी र तत्कालीन प्रधानमन्त्री ओलीले मिलेर एक वर्षमा दुई, दुई चोटी संविधानमाथि आक्रमण गरेर खत्तम पार्न खोजेको बताएका हुन् ।
पूर्वराष्ट्रपति यादवले पाँच राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि र अदालतले संविधान जोगाएको उल्लेख गर्दै राष्ट्रपति भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दलहरुलाई एकठाउँमा राखेर सदनमा देखिएको गतिरोध अन्त्यका लागि पहल गर्नुपर्ने कर्तव्य भएको पनि स्मरण गराए । उनले भने, ‘यो संविधानमाथि बारम्बार आक्रमण भईराखेको छ, यो चार वर्षमा । त्यसमा पनि एक वर्षदेखि २-२ चोटि संविधानमाथि आक्रमण भएको छ । सदनमाथि आक्रमण भएको छ ।
प्रधानमन्त्री, राष्ट्रपतिलगायत मिलेर नै यसलाई खत्तम गर्न खोजे । पोलिटिकल पार्टी कहाँ–कहाँ गए ? के–के भयो ? त्यो विषय होइन । म भन्न चाहन्छु–जुन समस्याहरु खडा गरेका छौं । ती संस्थाहरुलाई पौष्टिक आहार दिने, यसलाई मजदुत गर्ने, लोकतन्त्रका तीन वटा संस्थाहरु, जुन पिल्लर हुन्छ । त्यसमा बारम्बार प्रहार गरियो ।’
पूर्वराष्ट्रपति यादवले राष्ट्रको सम्पूर्ण समस्या समाधान गर्ने धलो संसद भएको उल्लेख गर्दै त्यसलाई बन्धक बनाउने काम गरेको भन्दै एमालेप्रति असन्तुष्टि समेत जनाए ।




प्रतिक्रिया