काठमाण्डु – काठमाण्डु उपत्यकामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण बढेसँगै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू आन्तरिक छलफलमा जुटेका छन् ।
पछिल्लो समय काठमाण्डु उपत्यकामा ओमिक्रोनको संक्रमण बढिरहेकाले अस्पतालहरुलाई तयारी अवस्थामा राख्न र सम्भावित भीडभाडलाई कम गर्नका लागि उपत्यकाका सिडिओहरु आन्तरिक छलफलमा जुटेका हुन् । काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले जिल्लामा सम्भावित भीडभाड कम गर्ने विषयमा बैठक बस्न लागेका हुन् ।
भक्तपुरकी सिडिओ रुद्रादेवी शर्माले सम्भावित जोखिमलाई कम गर्न र अस्पतालहरुलाई तयारी अवस्थामा राख्ने विषयमा छलफल गर्न बकैठक बस्न लागेको जानकारी दिइन् ।
‘जिल्लाले गर्नसक्ने निर्णयहरु आजको बैठकबाट गर्छौं । स्वास्थ्य मापदण्डमा कडाइ गर्ने, सकारी अस्पतालहरुलाई तयारी अवस्थामा राख्नेलगायतका विषयमा आज हामी जिल्लामा छलफल गर्छौं । त्यसपछि सकेसम्म आजै वा भोलिसम्ममा संयुक्त बैठक बस्छौं,’ सिडिओ शर्माले भनिन् ।
साथै उनले खोप कार्यक्रममलाई अझै बढाउँदै लैजाने पनि बताइन् । सिडिओ शर्माले १८ वर्ष उमेरभन्दा माथिका नागरिकहरुलाई खोप लगाउने बताएकी हुन् ।
‘अहिले १२ देखि १८ सम्मका बालबालिकाहरुलाई खोप लगाइरहेका छौं । केहीदिनपछि १८ वर्षभन्दा माथिका नागरिकहरुलाई खोप लगाउने क्रम सुरु हुन्छ । हामीले भीडभाड हुने क्षेत्रमा कडाई गर्ने तयारी गरेका छौ,’ शर्माले भनिन् ।
यता ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले ओमिक्रोनको संक्रमण बढिरहेकाले थप कडाई गरिने जानकारी दिए । उनकाअनुसार यस विषयमा छलफल गर्न आज दउँसो साढे २ बजे बैठक बोलाएको छ ।
कोरोना संक्रमणको ग्राफ बढ्दै गएको बताउँदै उनले मानिसहरुको चहलपहललाई घटाउनुपर्ने महसुस गरिएको बताए ।
उपाध्यायले भने, ‘स्वास्थ्य मन्त्रालयले प्राविधिक रुपमा गर्ने मार्गदर्शन र सीसीएमसीले गर्ने निर्देशन बमोजिम स्थानीय परिस्थिति अनुसार हामीले जिल्लाभित्र गर्नुपर्ने र काठमाडौं उपत्यकाभित्र एकीकृत रुपमा समन्वयात्मक विधिबाट काम गर्ने मनस्थिति बनाएका छौं, सीसीएमसीको निर्देशनपछि त्यसलाई औपचारिकता दिन्छौं ।’
जिल्ला प्रशासन कार्यालय काठमाण्डुले संयुक्त बैठक बस्ने तयारी भइरहेको जानकारी दिएको छ । काठमाण्डुका सिडिओ गोविन्द प्रसाद रिजालले भीडभाडयुक्त क्षेत्रलाई कम गर्दै तीन जिल्लाको संयुक्त बैठक बस्ने तयारी भइरहेको जानकारी दिए ।
‘हामी कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को निर्णय कुरिरहेका छौं । एकदुई दिनभित्र काठमाण्डु, भक्तपुर र ललितपुरका प्रमुख ज्ल्लिा अधिकारीसहितको संयुक्त बैठक बसेर आवश्यक निर्णय लिन्छौं । प्रशासनको हकमा आन्तरिक बैठक बसेर लकडाउन अगाडि भीडभाड कम गर्ने निर्णय हुन्छ,’ उनले भने ।
गत शुक्रबार प्रधानमन्त्री कार्यालयमा सीसीएमसी निर्देशक समितिको बैठक बसेको थियो । बैठकमा सीमा नाकामा परीक्षणपछि संक्रमण पुष्टि भएका नागरिकलाई आइसोलसनको व्यवस्था गर्ने, खाने तथा बस्ने सुविधाको व्यवस्था गर्ने विषयमा पनि छलफल भएको थियो ।
बैठकमा पूर्ण मात्रा खोप लगाएकालाई बुष्टर डोजको व्यवस्था गर्ने विषयमा पनि भएको थियो । खोप व्यवस्थापनको प्रक्रिया तत्काल अघि बढाउन पनि प्रधानमन्त्रीले निर्देशन दिएको उनले बताए। संक्रमणदर बढेमा चाँडै अर्को बैठकबाट स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको छ ।




प्रतिक्रिया