काठमाण्डु – रिक्त हुन लागेको १९ पदका लागि राष्ट्रिय सभाको चुनाव माघ १२ गतेका लागि तय भएको छ । यो निर्वाचनमा १२ दलले सहभागिता जनाएका छन् । निर्वाचन आयोगले माघ १२ गते हुने निर्वाचनको तयारी तीब्र रुपमा गरिरहेको बताएको छ । यो निर्वाचन विगतको भन्दा अलि फरक देखिएको छ । एमाले विभाजित बनेपछि हुन लागेको यो पहिलो निर्वाचन हो ।
सबैभन्दा रोचक त के छ भने यो निर्वाचनमा सत्ता गठबन्धनले सहमतिको आधारमा भागबन्डा गरेर उम्मेदवार उठाएका छन् भने एमाले एक्लै चुनावी प्रतिस्पर्धामा छ । गठबन्धनमा कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५–५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चाले एक सिट पाएको छ । १९ पदका लागि ४३ जना उम्मेदवार छन् । यता प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै चुनावमा होमिने तयारीमा छ । एमालेले १९ सिटका लागि १९ वटै पदमा उम्मेद्वारी दिएको छ ।
एमाले अनुकुल नतिजा नआउनेमा ढुक्क
यो पटकको निर्वाचनमा आफू अनुकुल नतिजा नआउनेमा एमाले ढुक्क छ । एमालेले एक प्रकारले हार स्विकारेको प्रस्ट देखिएको छ तर गठबन्धनका अगाडि प्रतिस्पर्धा देखिन सबै पदमा उम्मेद्वारी दिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले यो निर्वाचनको परिणाम आफूहरूका निम्ति प्रतिकूल आउन सक्ने स्वीकार गरेका हुन् ।
‘अहिले हाम्रो अगाडि राष्ट्रिय सभाको निर्वाचन आइरहेको छ। राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते सम्पन्न हुन्छ। मतदान हुन्छ त्यसमा १२ गते। र, त्यसको परिणाम हाम्रा निम्ति अलि प्रतिकूल आउन सक्छ। किन प्रतिकूल आउन सक्छ भने त्यो आजको जनमत होइन। र, त्यो कुनै यथार्थ जनमत होइन,’ शुक्रबार काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले भनेका थिए, ‘यो आजको जनादेश होइन। आजको जनमत होइन, आजको यथार्थ होइन। हिजोको बेग्लै परिस्थितिको दुरुपयोग गरेर पैदा गरिएको अवस्था हो। त्यसकारण यसमा हाम्रो अलिकति सकारात्मक परिणाम आएन भनेर अनौठो मान्नुपर्ने कुनै अवस्था छैन। यो हिजोको कुरा हो। र, नेकपा एमालेलाई संसदीय क्षेत्रमा, संसदीय सङ्घर्षको मैदानमा र तीनै तहको निर्वाचनहरूमा नेकपा एमालेमाथि गर्न सक्ने हानिकारक प्रहारको अन्तिम किस्सा यो हो। नेकपा एमाले फुटाउन तत्त्वहरूको अन्तिम प्रहार यही हो। यसभन्दा पछि जनतामा जाँदा अब उप्रान्त उनीहरूसँग त्यो हैसियत रहँदैन ।’
यता नेकपा एमालेका राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले दुई वटा प्रदेशमा जित्ने सम्भावना रहेको दाबी गरेका छन् । गठबन्धन भन्दा बाहिर रहेका दलहरूसंग छलफल गरेर गठबन्धन गर्ने तयारी भइरहेको उनले बताए ।
‘अहिलेसम्म हामीले कुनै दलसंग गठबन्धन गरेका छैनौँ । हामी एक्लै गइरहेका छौं । प्रदेश नम्बर १ र बागमती प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग कुराकानी भइरहेको छ । त्यहाँ हामीले जित्छौं भन्ने छ । अरु प्रदेशमा प्रतिष्पर्धा बढी छ । गठबन्धन भन्दा पनि प्रदेशसभा सदस्य र पालिका प्रमुखहरुसँग कुरा गरिरहेका छौं । अन्य प्रदेशमा भने पराजय बेहोर्नुपर्ने हुनसक्छ,’ सचेतक भट्टराईले भने ।
प्रचण्ड–नेपाल देउवाको भरमा
एमालेबाट विभाजित बनेको नेकपा एकीकृत समाजवादी पार्टी र हिजोका दिनमा एमालेसंग सहकार्य गरेको नेकपा माओवादी केन्द्रलाई भने गठबन्धन फापेको छ । गठबन्धनकै कारण सांसद संख्या बढाउने अवसर पनि उनिहरुमा छ । नेकपा एमाले संग निकै रुष्ट बनेका यि दुई दलले गतिलो जवाफ फर्काउने अवसरका रुपमा राष्ट्रिय सभाको निर्वाचनलाई लिएका छन् ।
त्यसैले यि दुवै दलले आगामी निर्वाचन सम्म नै नेपाली कांग्रेसको साथ खोजिरहेका छन् । तर कांग्रेस भित्रै गठबन्धनको आयुका बारेमा बहस सुरु भइसकेकाले यो गठबन्धनमा कांग्रेस कहिलेसम्म रहने हो भन्ने कुनै टुङ्गो छैन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म नै रहने जिकिर गरिरहँदा नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसले कुनै दलको साहारा नलिने स्पष्ट पारिसकेका छन् । सुनसरीमा शनिबार आयोजित कार्यक्रममा उनले अब हुने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग कांग्रेसको गठबन्धन नहुने बताएका हुन् । ‘अब कांग्रेस एक्लै चुनाव लड्छ ।
कांग्रेसका नेता तथा कार्यकर्ताले अबको निर्वाचनमा आफ्नै पार्टीको चुनाव चिन्ह रुखबाहेक अन्य चिन्हमा मत नहाल्ने आशय व्यक्त गरिसकेका छन्,’ कोइरालाले भने, ‘त्यसैले आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लडेर पनि बहुमत ल्याउँछ ।’
यता नेकपा एसका अध्यक्ष माधव नेपालले आगामी सबै निर्वाचनसम्म कांग्रेसको साथ खोजेका छन् । उनले राष्ट्रियसभाको निर्वाचनपछि पनि आफूहरु कांग्रेससँग मिलेर चुनाव लड्ने बताएका हुन् ।
‘राष्ट्रियसभाको निर्वाचनमात्र होइन कांग्रेसका नेताहरुले नै हामीले पछिसम्म पनि मिलेर जानुपर्छ भनेका छन् । प्रधानमन्त्रीले चुनावसम्म गठबन्धन जान्छ । अरुले बाटोमा भनेर हुन्छ ?,’ अध्यक्ष नेपालले भने ।
राष्ट्रिय सभाको निर्वाचनमा आफ्ना उमेद्वारलाई जिताउन गठबन्धनले अपिल गरिसकेको छ । राष्ट्रिय सभाको निर्वाचनपछि फेरी बेठक बसेर गठबन्धनबारे छलफल हुने नेताहरुले बताएका छन् ।




प्रतिक्रिया