बलात्कारको घटनालाई आर्थिक लेनदेनमा मिलाउन खोज्ने जनप्रतिनिधि र शिक्षक पक्राउ

बलात्कारको घटनालाई आर्थिक लेनदेनमा मिलाउन खोज्ने जनप्रतिनिधि र शिक्षक पक्राउ

File Photo

धनगढी । बलात्कार जस्तो जघन्य अपराध ढाकछोप गर्न खोजेको आरोपमा कैलालीमा जनप्रतिनिधि, शिक्षकसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली घोडाघोडी नगरपालिका–४ का वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, सोही वडाका शिक्षक प्रकाश सुवेदी, शिक्षक होमप्रसाद सुवेदी, पूर्व वडा सचिव यज्ञराज आचार्य र राजु भट्टराई छन् ।

१५ मंसिरमा स्थानीय ७७ बर्षीया महिलामाथि भएको बलात्कारको घटना ढाकछोप गर्न भूमिका खेलेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

 उनका अनुसार पीडित महिलाका छोराले १२ पुसमा मात्रै इलाका प्रहरीका सुख्खडमा बलात्कार भएको भन्दै उजुरी दिएका थिए । १५ मंसिरमा भएको घटनामा उजुरी दिन किन ढिलाई भन्ने प्रश्नमा पीडित पक्षले जनप्रतिनिधि र शिक्षकको दबाबका कारण ढिलाई भएको जवाफ दिएको प्रहरी प्रवक्ता जोशीले बताए ।

प्रहरी प्रवक्ता जोशीले आर्थिक लेनदेनको विषयमा कुरा नमिलेका कारण घटना ढिला गरी मात्रै बाहिरिएको हुन सक्ने बताए । ‘सुरुमा तीन लाखमा कुरा भएको देखिन्छ,’ प्रवक्ता जोशीले भने, ‘तर पछि भने जनि पैसा नपाइएपछि आफन्त प्रहरी कहाँ पुगेका हुन सक्छन्, यस विषयमा थप अनुसनधान भइरहेको छ ।’

पीडित पक्षले भने जनप्रतिनिधिको दबाबका कारण उजुरी दिन ढिलाई भएको भन्ने जवाफ दिएका छन् । घटनामा संलग्न भएको आश‌का गरिएका ३/४ जना भने अझै पक्राउ परेका छैनन् ।