कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै, तत्काल लकडाउन गर्ने पक्षमा छैन् सरकार

कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै, तत्काल लकडाउन गर्ने पक्षमा छैन् सरकार


काठमाण्डु – पछिल्लो समय कोरोना भाइरस संक्रमित बढेसँगै मुलुकमा लकडाउनको चर्चा चल्न थालेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका बिरामी बढेसँगै नेपालमा पनि लकडाउनको चर्चा सुरु भएको हो ।

केहीदिनको तथ्यांकलाई केलाउने हाे भने नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । आइतबार १२६३६ जनाको परीक्षण गर्दा ११६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै गत शनिबार १३२६४ जनाको परीक्षण गर्दा ९४४ जना संक्रमित फेला परेका थिए । पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेको तथ्यांकहरुले देखाइरहेका छन् । संक्रमणदर बढेसँगै सरकारले पनि अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ।

साथै सरकारले माघ १५ गतेसम्म विद्यालय र कलेजहरु बन्द गर्ने निर्णय गरिसकेको छ । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठकले कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले माघ १५ सम्म स्कूल तथा कलेजहरु बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।

हिजाेकाे बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा धरै भेला हुन नपाउने व्यवस्था गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ । सिसिएमसीको बैठकले अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव गर्न रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गरेको हाे । माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने छ ।

सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

यता अर्थमन्त्री जनार्दन शर्माले मुलुकले कुनैपनि हालतमा पनि लकडाउनको बाटो रोज्न नहुने बताए । सोमबार राजधानीमा आयोजित बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) को दोस्रो वार्षिक साधारणसभामा बोल्दै मन्त्री शर्माले अहिलेको विकराल आर्थिक संकटको मुख्य कारण नै कोरोना महामारीबाट सिर्जित लकडाउन र सोबाट प्रभावित आर्थिक क्षेत्रको परिणाम रहेको बताउँदै अब फेरी पनि लकडाउन भए अर्थतन्त्रले धान्न नसक्ने बताए ।

‘संकट भनेको संकट नै हो । यसमा पनि नाफा खोज्ने ? यसो नगर्नुहोस् । सरकार, निजी क्षेत्र सबै मिलेर समस्या समाधान गर्न लागौं,’ मन्त्री शर्माले भने ।

साथै स्वास्थ्य तथा जनसंख्या मक्न्त्रालय पनि तत्काल आफूहरु लकडाउन गर्ने पक्षमा छैन् । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले संक्रमणदर बढ्दैमा लकडाउन गरिहाल्नु नपर्ने बताए ।

‘तत्काल सबै क्षेत्र बन्द गर्ने कुरा हामीले गरेको छैन । पूरा बन्दाबन्दी गरेर मान्छेलाई घरमै थुन्नेबारे सरकारले अहिले सोचेको पनि छैन । मन्त्रालयले त्यसो भनेको पनि छैन,’ उनले भने, ‘तत्काल लकडाउनमा गइहाल्नपर्दैन । तर संक्रमण बढ्दै गयो र केही उपाय लागेन, स्वास्थ्य प्रणाली नै धरासायी भयो भन्ने अवस्था सिर्जना भयो भने त के विकल्प रहन्छ र ?’

काठमाण्डुका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले तत्कालै उपत्यकामा लकडाउन गर्ने योजना नरहेको बताए । होटल, बैंक तथा अन्य सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भीडभाड हुन नदिने बताउँदै रिजालले मास्क, तापक्रम नाप्‍ने र स्यानिटाइजर अनिवार्य गराउनले बताए ।

‘प्रशासनले सिसिएमसीको निर्णय कार्यान्वय गर्ने प्राथमिकतामा पहिलो प्राथमिकतामा राखेको छ । तत्कालै लकडाउन गरेर जाने अवस्था छैन,’ उनले भने ।