माधव नेपाललाई धक्का : नेकपा एसनिकट कर्मचारी संगठन एमालेमा फर्कियाे

माधव नेपाललाई धक्का : नेकपा एसनिकट कर्मचारी संगठन एमालेमा फर्कियाे


काठमाण्डु – सत्तारुढ नेकपा एकीकृत समाजवादी (एस) निकट कर्मचारी संगठनका केन्द्रीय पदाधिकारी नेकपा एमालेमा फर्किएका छन् । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा एस निकट कर्मचारी संगठनका केन्द्रीय पदाधिकारी एमालेनिकट निजामती कर्मचारी संगठनमै फर्किएका हुन् ।

यससँगै एकीकृत समाजवादीनिकट कर्मचारी युनियनको नेपाल निजामती कर्मचारी संगठनमा औपचारिक रुपमै विलय भएको छ । केपी शर्मा ओली नेतृत्वको एमाले समर्थित कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै जिल्ला र विभागीय अधिवेशनमा जुट्न अपिल गरेका छन् ।

उक्त विज्ञप्तिमा नेकपा एसबाट बाहिरिएका कर्मचारी युनियनका अध्यक्ष रेवन्त गौतम र एमाले समर्थित कर्मचारी संगठनका अध्यक्ष देवकोटाको हस्ताक्षर छ । उनीहरुले माघ १४ र १५ मा आयोजना हुन लागेको राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीनिकट कर्मचारीलाई आह्वान गरेका छन् ।

अध्यक्ष गौतम, वरिष्ठ उपाध्यक्ष मोहन गिरी लगायत सबै केन्द्रीय पदाधिकारी ओली निकटको नेपाल निजामती कर्मचारी संगठनमा फर्किएका हुन् ।

त्यस्तै केन्द्रीय सदस्यहरु अमर गिरी, पदमराज जोशी,रामचन्द्र पण्डित, शान्ति विष्ट, लक्ष्मी योगी, अमृता रावत, जयदेश जोशी लगायत २१ जना केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष तथा विभागीय सदस्यसमेत ३०१ जनाले नेकपा एस परित्याग गरेको गौतमले बताए ।

माधव नेपाल नेतृत्वको एसनिकट संगठनका संस्थापक अध्यक्ष गौतम, वरिष्ठ उपाध्यक्ष मोहन गिरी, उपमहासचिव रामचन्द्र अधिकारी, सचिव ओम कठायत एमालेनिकट संगठनमै फर्किएका हुन् । संगठनका सबै पदाधिकारी एमालेमा फर्किएपछि माधव नेपालाई ठूलो धक्का लागेको छ ।