काठमाण्डु – प्रतिनिधि सभाको बैठक साेमबारका लागि बोलाइएको छ । भोलि दिउँसो १ बजेका लागि बैठक डाकिएको संसद सचिवालयले जनाएको छ । यसअघि पुस २८ गते बुधबारका लागि डाकेको बैठक विशेष कारण देखाउँदै भोलिका लागि सारिएको हो । विशेष कारण भने पनि संसद सचिवालयले कोरोनाकै कारण बैठक स्थगित गरिएको जनाएको छ ।
नेकपा माओवादी केन्द्रको महाधिवेशनमा सहभागी धेरै सांसदहरूमा कोरोना संक्रमण देखिएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संक्रमित भएपछि घरमै आइसोलेसनमा बसिरहेका छन्। यस्तै सरकारका मन्त्री र केही सांसदहरूलाई पनि संक्रमण देखिएकाले भोलि बस्ने बैठक पनि अनिश्चित बनेको छ । संसद सञ्चालन बारे सभामुख अग्नि प्रसाद सापकोटाले छलफल गर्न लागेका छन् । कोरोना संक्रमण उच्च गतिमा वृद्धि भएसँगै सरकारले सतर्कता अपनाउन भनेको छ । यस्तै २५ जनाभन्दा बढी भेला हुन नदिन भनेको छ ।
सांसदहरू पनि संक्रमित बनेकाले भोलिको बैठक अनिश्चित बनेको संसद सचिवालयका एक उच्च अधिकारीले भनेका छन् । उनले भने ‘पहिलो र दोस्रो लहरमा पनि हामीले स्वास्थ्यका मापदण्ड अपनाएर संसद सञ्चालन गरेका थियौ , यो पटक पनि त्यस्तै गर्ने तयारी सचिवालयको छ तर यसबारे सभामुखले दलहरूसंग छलफल गरेर निर्णय गर्नुहोला ’
एमालेको अडान भने उस्तै
संसदको नबौँ अधिवेशन सुरूभएदेखिनै संसदमा अवरोध गर्दै आएको एमालेले प्रतिनिधि सभामा जारी अवरोध कायमै राख्ने संकेत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीबीच ६ महिनाको संवादहीनता अन्त्य भए पनि संसद् अवरोध हट्ने संकेत देखिएको छैन । बालुवाटारबाट बालकोट पुगेरै एमालेलाई मनाउने प्रयास गरेका प्रधानमन्त्री देउवाको प्रयास असफल भएको बुझिएको छ । बालकोटले अहिलेसम्म कुनै ग्रिन सिंग्नल नदिएको बुझिएको छ ।
एमालेको अडान परिवर्तन नभएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए । उनी भन्छन् ‘अहिले सम्म हाम्रो माग पुरा भएको छैन , अध्यक्ष ज्युसंग भएको वार्ता एउटा सुरूवातमात्रै हो जबसम्म हाम्रो माग पुरा हुदैन तबसम्म हाम्रो अडानबाट पछि हट्नेवाला छैनौ“’ एमालेले माधवकुमार नेपालसहित १४ सांसद पदबाट मुक्त भएको सूचना जारी हुनुपर्ने अडान राख्दै आएको छ । त्यसका लागि सत्तारूढ दल, सरकारको नेतृत्व गरिरहेको कांग्रेस र सभामुख अग्निप्रसाद सापकोटाले जिम्मेवारी बोध गरेर माग सम्बोधन गर्नुपर्ने एमालेको माग छ ।
त्यस्तै १४ सांसद पदमुक्त भएको सूचना सार्वजनिक नगर्ने हो भने सभामुख सापकोटालेनै राजीनामा दिनुपर्ने एमालेको माग छ । यद्यपि भोलिको बैठक बस्ने नबस्ने अनिश्चित छ । भोलिको बैठकबारे निर्णय लिन सभामुखले राजनीतिक दलहरूसंग छलफल गर्न लागेका छन् । यता कोरोना संक्रमण बढेको भन्दै भोली कालागि तय भएको राष्ट्रिय सभाको बैठक भने अर्को सूचना जारी नभएसम्मकालागि स्थगित भएको छ ।




प्रतिक्रिया