गठबन्धन चुनावसंग डराएको प्रतिपक्षको आरोप , एक हप्ताभित्र चुनावको मिति तोक्ने सरकारको तयारी

गठबन्धन चुनावसंग डराएको प्रतिपक्षको आरोप , एक हप्ताभित्र चुनावको मिति तोक्ने सरकारको तयारी


काठमाण्डु – स्थानीय तहको चुनावको मिति एक हप्ता भित्र तय गर्ने सरकारको तयारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले एक हप्ताभित्र नै चुनावको मिति टुङ्गो लाग्ने बताएका हुन् । समाजवादी प्रेस संगठन मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सरकारले स्थानीय तह चुनावको मिति तय गर्ने जानकारी दिए ।

प्रतिपक्ष दलले सत्ता गठबन्धन चुनावदेखि डराएको आरोप लगाएका बेला मन्त्री खतिवडाले यस्तो बताएका हुन् । खतिवडाले भने,‘पाँच दलीय गठबन्धन चुनावबाट भागेको छैन । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट स्थानीय तहको चुनावको मिति टुंग्याउछौँ ।’ स्थानिय तहको निर्वाचनबारे निर्वाचन आयोगले दलहरूसंग छलफल गरिरहेको छ ।

आयोगका पदाधिकारीहरूले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आगामी वैशाखमा चुनाव गर्ने प्रस्ताव गरेका थिए । उनीहरूले स्थानीय तहको चुनावका लागि दुई वटा मिति सुझाएका थिए । आयोगका पदाधिकारीले १४ वैशाख र २२ वैशाखमा चुनाव गर्न सकिने प्रस्ताव गरेका थिए । ७५३ वटै स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यअवधि केही ५ जेठमा सकिँदै छ ।