काठमाण्डु – सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सुरु भएको छ । केहिबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको बैठक अहिले जारी छ ।
बैठकमा माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको रणनीति, स्थानीय तहको निर्वाचन मिति घोषणा, कोरोना नियन्त्रणलगायत समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ । आजको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल भने सहभागी छैनन् । उनले महासचिव बेदुराम भुसाल र उपमहासचिव डा. गंगालाल तुलाधरलाई पठाएका छन् ।
सरकार सञ्चालनमा सहयोगका लागि कांग्रेसका वरिष्ठ नेता पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सदस्य छन् ।
त्यस्तै राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल पनि समितिमा सदस्य छन् । कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार भएको भेटवार्तापछि आजका लागि राजनीतिक समन्वय समितिको बैठक तय भएको थियो ।




प्रतिक्रिया