एमालेमा उपाध्यक्ष र सचिवहरुको अधिकार कटौती, अब कसलाई के जिम्मेवारी ? (सूचीसहित)

एमालेमा उपाध्यक्ष र सचिवहरुको अधिकार कटौती, अब कसलाई के जिम्मेवारी ? (सूचीसहित)


काठमाण्डु – नेकपा एमालेले केन्द्रीय पदाधिकारीहरूको कर्तव्य र अधिकार विभाजन गरेको छ । एमालेले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनबाट संशोधित विधानमा केही पदाधिकारीहरूको अधिकार हेरफेर गरेको हो ।

विधानमा वरिष्ठ उपाध्यक्ष पदको कर्तव्य र अधिकारको व्यवस्था पनि गरिएको छ । अरू पदका अधिकार भने अघिल्लै विधानदेखि व्यवस्था यथावत् छ । एमालेमा नेताहरूको व्यवस्थापनका लागि प्रथम विधान महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षको व्यवस्था गरिएको थियो । सोहीअनुसार दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित वरिष्ठ उपाध्यक्षको कर्तव्य र अधिकार विधानमा व्यवस्था गरिएको हो ।

एमालेमा ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष छन् । वरिष्ठ उपाध्यक्षलाई यसअघि उपाध्यक्षलाई तोकिएको जिम्मेवारी दिइएको छ । अब अध्यक्षको अनुपस्थितीमा उपाध्यक्षले गर्ने अध्यक्षको कार्य वरिष्ठ उपाध्यक्षले गर्नेछन् ।

त्यस्तै एमालेले सचिवहरुको अधिकारमा समेत हेरफेर गरेको छ । एमालेले नवौँ महाधिवेशनले संशोधन गरेको विधानमा प्रत्यायोजित अधिकार संशोधन गर्दै केन्द्रीय सचिवालय, पार्टी संगठन, मोर्चा संगठन, प्रचार तथा प्रकाशन र राजकीय मामिला गरी पाँच क्षेत्रको काम गर्ने भन्ने अधिकार हटाएको हो । अब सचिवहरूले महासचिवको काममा आवश्यक सहयोग गर्ने, महासचिवले प्रत्यायोजन गरिएका कार्यहरू गर्नेछन् ।

यस्तो छ वरिष्ठ उपाध्यक्षको अधिकार र कर्तव्य:

 १ अध्यक्षको काममा आवश्यक सहयोग गर्ने ।

२ अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने कार्य गर्ने ।

३ अध्यक्षले प्रत्यायोजन गरेका कार्यहरू गर्ने ।

४ केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालयले तोकेका अन्य कार्यहरू गर्ने ।

यस्तो छ हालको विधानमा उपाध्यक्षको अधिकार–

१ अध्यक्षको काममा आवश्यक सहयोग गर्ने ।

२ अध्यक्षले प्रत्यायोजन गरेका कार्यहरू गर्ने ।

३  केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालयले तोकेका कार्य गर्ने ।

सचिवको अधिकार र कर्तव्य:

१ महासचिवको काममा आवश्यक सहयोग गर्ने ।

२ महासचिवले प्रत्यायोजन गरेका कार्यहरू गर्ने ।

३ केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालयले तोकेका अन्य कार्यहरू गर्ने ।