‘आफ्नै बोली’ले रेणु यादवको मन्त्री पद धरापमा

‘आफ्नै बोली’ले रेणु यादवको मन्त्री पद धरापमा


काठमाण्डु – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको चौतर्फी आलोचना हुन थालेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतलाई खुलेआम ज्यान मार्ने धम्की दिएपछि जसपाको नेतृ समेत रहेकी मन्त्री यादवको सर्वत्र आलोचना हुन थालेको हो ।

बुधबार बलिदानी दिवसका अवसरमा रौतहटको गौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले अर्को ‘गौर नरसंहार’ मच्चाएर खुलेआम सिके राउतको हत्या गर्ने धम्की दिएकी थिइन् ।

हिन्दी भाषामा भाषण गरेकी उनले राउतलाई चेतावनी दिँदै भनेकी थिइन्, ‘गौर नरसंहारको इतिहास राइस मिल जिवीतै छ । गौरमा फँणा देखाउने प्रयास नगर । यहाँ लाठी भाँच्न मानिसले जानेका छन् । तुफानसँग टकराउने प्रयास नगर । तुफानसँग भिड्न आए तपाईंको उही हालत हुनेछ जे गौरको राइस मिलमा भएको थियो ।’

बहालवाला मन्त्रीले नरसंहार मच्चाउने र एउटा पार्टीको अध्यक्षको हत्या गर्ने खुलेआम धम्की दिनु सामान्य घटना होइन । माघ ५  गते गौरको एक कार्यक्रममा पुगेकी मन्त्री यादवलाई किसान आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले कालोझण्डा देखाएका थिए । कालोझण्डा देखाएको आक्रोस थाम्न नसकेकी मन्त्री यादवले हिसांत्मक अभिव्यक्ति दिएकी हुन् ।

उक्त हिंसात्मक अभिव्यक्तिपछि उनको मन्त्री पद धरापमा परेको छ । विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले उनको अभिव्यक्तिप्रति गम्भीरता देखाइसकेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पनि चासो लिएको बुझिएको छ ।

यता यादवलाई मन्त्रीबाट हटाउन जसपा अध्यक्ष उपेन्द्र यादवलाई दबाब बढिसकेको छ । स्रोतका अनुसार जसपा नेता डा. बाबुराम भट्टराईले समेत यसबारे चासो दिइसकेका छन् । सत्तारुढ दल नेपाली काँग्रेसका नेताहरुले नै यादवको राजीनामा मागेका छन् ।

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले गौर नरसंहार दोहोराउने अभिव्यक्ति दिने यादवलाई पदमा रहने नैतिक अधिकार नभएको बताइसकेका छन् । त्यस्तै जनमत पार्टीले समेत रेणु यादवलाई मन्त्री पदबाट तत्काल बर्खास्त गरि गौर हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न माग गरेको छ ।

‘नेपाल सरकारले अपराधिक अभिव्यक्ति दिने, हत्या हिंसा भड्काउन खोज्ने र अर्को नरसंहारको षडयन्त्र रच्ने मन्त्रीलाई अविलम्ब बर्खास्त गर्नुपर्छ । साथै गौर नरसंहारका फरार अभियुक्तहरुलाई सुरक्षाकर्मीले विशिष्ठ सुरक्षा घेरामा राखेर सुरक्षा दिने होइन कि उनीहरुलाई तत्काल पक्राउ गरी नरसंहारका पीडितहरुलाई न्याय दिदै मधेशमा विद्यमान अपराधिक पार्टीको अपराधिक राजलाई समाप्त पार्नु पर्दछ, उक्त पार्टीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

७ चैत्र २०६३ मा गौर नगरपालिकाको राइस मिलमा तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेशी जनअधिकार फोरमले एकसाथ कार्यक्रम गर्न लाग्दा भएको झडपमा हिंसा मच्चिएको थियो ।

फोरमका कार्यकर्ताले २७ जना माओवादीका वाइसिएल कार्यकर्ताको हत्या गरेका थिए भने ५१ जना घाइते भएका थिए । गौर नरसंहारका रुपमा चर्चित यो घटनामा हालका जसपा अध्यक्ष उपेन्द्र यादव मुछिएका छन् । बबन सिंह देखि उपेन्द्र यादवसम्म गरी ११३ जनाको नाममा न्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता भएको छ । तर, यसमा अझैसम्म कसैले सजाय पाएका छैनन् । गैर नरसंहारको विषय ओझेलमा पारिएपनि बेला बेलामा उठ्ने गरेको छ ।

के भन्छिन् मन्त्री यादव ?

मन्त्री यादवले भने आफुले सिके राउतको हत्या गर्ने धम्की नदिएको स्पष्टिकरण दिएकी छन् । उनले आफुले दिएको भाषणलाई ‘इडिट’ गरेर प्रचार गरिएको काठमाण्डुपाटीलाई बताइन् ।

‘मैले आन्दोलनको कुरा जोडेको छु । म कुन महापुरुष हुँ र मार्दिन्छु भन्नलाई । मेरो पूरै भाषण सुन्नुप¥यो नि त । मैले के बोलेको छु भन्नलाई त,’ उनले भनिन् ।