काठमाण्डु – राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु भएको छ । सात वटै प्रदेशमा रहेका मतदान केन्द्रमा बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि आज अपराह्न ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।
५९ सदस्यीय राष्ट्रिय सभाका १९ सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदैछ । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधी प्रत्येक दुई वर्षमा सकिने संवैधानिक व्यवस्था अनुसार आगामी फागुन २० मा नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ गरी १९ सदस्यको पदावधि समाप्त हुँदैछ ।
पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन गर्नुपर्ने कानूनी प्रावधान अनुसार आज १९ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।
निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ९ दलका ४३ जना उम्मेदवार छन् ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्यहरु र स्थानीय तहका प्रमुख–उपप्रमुखहरुले भाग लिन पाउँछन् । सातै प्रदेशमा कूल मतदाता २०२५ कायम छन् ।
मतपरिणाम आजै आउने
मतगणनाको व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई नै जिम्मा दिइएको र नतिजा आजै सार्वजनिक गर्ने आयोगले जनाएको छ । कुनै बाधा नआएको खण्डमा मत परिणाम आजै रातिसम्म सार्वजनिक गरिने तयारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।




प्रतिक्रिया