काठमाण्डु – नेकपा एमालेका सचिव गोर्कण विष्टले संविधान र कानुनको अपव्याख्या गर्दै सत्ता पक्ष स्थानीय तहलाई जनप्रतिनिधि विहीन बनाउने षड्यन्त्रमा लागेको बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत नेता विष्टले स्थानीय निर्वाचनमा आउन सक्ने परिणामबाट तर्सिएर गठबन्धन चुनाव नै सार्न लागि परेको आरोप लगाएका हुन् ।
‘निर्वाचन आयोगले आगामी वैशाख महिनाभित्रै सम्पन्न गर्नेगरी निर्वाचनको मिति घोषणा गर्न पटक–पटक सरकारको ध्यानआकृष्ट गरिरहेकै बेला सत्ता गठबन्धन भने लोकतान्त्रिक अभ्यासको बर्खिलापमा चुनाव टार्ने प्रपञ्च गरिरहेको छ,’ उनले भनेका छन् ।
साथै उनले अविलम्ब स्थानीय तहको चुनावको घोषणा गर्न माग गरेका छन् । ‘आगामी स्थानीय तहको निर्वाचनमा प्राप्त हुन सक्ने परिणामबाट तर्सिएर चुनाव नै सार्न जालझेल रच्ने पार्टीहरुबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन सक्दैन । लोकतान्त्रिक अभ्यासबाट नभाग । संविधानको कार्यान्वयन गर । अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर,’ उनले भनेका छन् ।




प्रतिक्रिया