वैशाखमै चुनाव भए पनि भिड्न तयार छौँ : माधव नेपाल

वैशाखमै चुनाव भए पनि भिड्न तयार छौँ : माधव नेपाल


काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले स्थानीय निर्वाचन संविधानअनुसार नै हुनुपर्ने बताएका छन्। शनिबार पार्टीनिकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले स्थानीय तहको चुनाव आगामी वैशाखकै लागि तोकिए पनि आफ्नो पार्टी भिड्न तयार रहेकोे बताएका हुन् ।

उनले भने, ‘जनतामा जाने कुरालाई सहज ठानेका छौँ। चुनावलाई लिएर अरू आत्तिएका होलान्। तर, हामी आत्तिएको छैनौँ। वैशाख, जेठ, असार अथवा असोजमै भएपनि सामाना गर्न तयार छौँ। अहिले गठबन्धन टुटाउन मात्रै भ्रम फैलाइएको छ । कांग्रेसका सबै नेताहरु र प्रधानमन्त्रीज्युले आजको बैठकमा पनि गठबन्धनलाई निरन्तरता राख्ने प्रतिबद्धता जनाइसक्नुभएको छ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता राख्ने प्रतिबद्धता जाहेर गरेको समेत दावी गरे । ‘अहिले बिहानमात्रै पनि कांग्रेसका सबै नेताहरूले गठबन्धन चुनावसम्म रहन्छ, राख्नुपर्छ भनेर प्रतिबद्धता जनाउनुभयो । प्रधानमन्त्रीले पनि त्यही भन्नुभएको छ,’ उनले भने, ‘त्यसैले यो गठबन्धन आगामी चुनावसम्मै रहन्छ ।’