स्थानिय निर्वाचन : एमालेको दबाव महत्वपूर्ण

स्थानिय निर्वाचन : एमालेको दबाव महत्वपूर्ण


काठमाण्डु – चौतर्फी दबावकाबीच सत्ता गठबन्धनले स्थानिय निर्वाचन जेठ महिनाभित्रै गर्ने निर्णय गरेका छन् ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजादीका अध्यक्ष माधव नेपाल र आफ्नै पार्टीभित्रको एक तप्काको दबावका कारण स्थानीय निर्वाचनको मिति सार्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अन्ततः जेठभित्रै निर्वाचन गर्न सहमत भएका हुन् ।

यसअघि स्थानिय निर्वाचनसम्बन्धी ऐन बाझिएको भन्दै स्थानीय तहका पदाधिकारीको पदावधि सकिएको ६ महिनापछि चुनाव गर्ने गरी सत्ता गठबन्धनले तयारी गरेको थियो । तर शनिबार बसेको सत्ता गठबन्धनको बैठकले जेठ महिनामा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने सहमति गरेसँगै स्थानीय तह निर्वाचनको अन्योलता हटेको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, नेपाली कांग्रेसको संस्थापन इतर पक्ष, नागरिक समाज, संविधानविद लगायतले समयमै स्थानिय निर्वाचन गर्न सरकारलाई दवाव दिँदै आइरहेका छन् । त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले समेत प्रधानमन्त्री देउवालाई तोकिएको समयभित्र चुनाव गराउन दबाब दिएकी थिइन् ।

एमालेको दबाव महत्वपूर्ण

स्थानिय निर्वाचन समयमै गर्ने विषयमा नेकपा एमालले गठबन्धनलाई दिएको भूमिका एकदमै महत्वपूर्ण रहेको देखिन्छ ।  विशेष गरी प्रचण्ड र माधव नेपाल स्थानीय तह निर्वाचनको मिति पर सारेर निर्वाचनबाट भाग्न खोजेका थिए ।

माधव नेपाले भर्खरैमात्र नयाँ पार्टी गठन गरेकाले उनको संगठन गाउँ गाउँसम्म पुग्न कसेको छैन । यस्तो अवस्थामा चाँडो निर्वाचन भयो भने आफूसँग भएका कार्यकर्ता जोगाउनसमेत अप्ठेरो पर्ने र चुनावको परिणाम पनि आफ्नो पक्षमा नआउने उनको बुझाइ थियो ।

एमालेका कार्यकर्ता आफूतिर तानेर संगठन विस्तार गरिरहेका नेपाललाई जेठमा चुनाव हुँदा एमालेका कार्यकर्ता आफूतर्फ तान्ने भन्दा पनि आफूसँग भएका कार्यकर्तालाई एमालेमा जानबाट जोगाउने चुनौती थपिन्छ । त्यस्तो अवस्थामा माधव नेपालले चुनाव सार्न खोज्नु स्वाभाविक भएको माओवादी केन्द्रका एक नेताले बताए ।

कानुनविद्सँगको परामर्श र एमालेका गतिविधिले जेठभित्रै चुनाव गर्न दबाव सृजना भएपछि गठबन्धन पहिला स्थानीय तह निर्वाचन गर्न तयार भएको हाे ।

‘ओलीजीका गतिविधिले सरकार र गठबन्धनलाई चुनावमा जान बाध्य बनायो,’ शाहले भने, ‘ओलीजीले आफू सरकारमा हुँदा संवैधानिक निकायमा गरेका नियुक्तीलाई प्रयोग गरेर सरकारमाथि दबाव सृजना गर्ने काम भयो, उहाँले त्यसको परिणामतिर सोच्नु भएन,’ ती नेताले भने ।

निर्वाचन आयोगले सरकारलाई स्थानीय तह निर्वाचनको मिति तोक्न पटक पटक ताकेता गर्दै आएको थियो ।

‘संवैधानिक आयोगले सरकारमाथि दबाव बढाउने गरी विज्ञप्ति निकाल्नु उसको क्षेत्राधिकार बाहिरको विषय हो, यसमा एमालेले भूमिका खेलेको स्पष्ट भयो,’  ती नेताले भने, ‘विज्ञहरुले पनि तोकिएको समयमा चुनाव गर्न सुझाव दिनु र ओलीका गतिविधि एकपछि अर्को गर्दै बढ्न थालेपछि निर्वाचनको मिति तोक्नुको विकल्प नै भएन ।’

त्यस्तै राष्ट्रपति भण्डारीले समेत प्रधानमन्त्रीलाई समयमै निर्वाचन गर्न सुझाव दिएकी थिइन् । तर उनको सुझावलाई सत्ता गठबन्धनले दबावका रुपमा लिएको छ । राष्ट्रपतिले प्रधानमन्त्रीलाई पत्र लेखेर दबाव दिनुमा पनि एमाले अध्यक्ष केपी ओलीको हात रहेको गठबन्धनको भनाई छ ।

चुनावको मिति घोषणा गर्न सरकारमाथि चौतर्फी दबाव बढ्न थालेपछि प्रचण्ड र माधव नेपालले देउवासँग संघीय चुनावसम्म गठबन्धन कायम रहने आश्वासन खोजेका थिए ।

स्रोतका अनुसार देउवाले पनि प्रचण्ड र नेपाललाई संघीय चुनावसम्म गठबन्धन जारी रहने आश्वासन दिएपछि  उनीहरू  अर्लि इलेक्सनबाट पछि हटेका हुन् । यता देउवालाई पार्टीभित्रैबाट आगामी निर्वाचनमा एक्लै लड्नुपर्ने दबाव छ । कांग्रेस महामन्त्री गगन थापा लगायतले समयमै निर्वाचन गरिनुपर्ने र कांग्रेसले अब गठबन्धन गर्न नहुने भन्दै देउवालाई दबाव दिइरहेका छन् ।

देउवामाथि पनि पार्टीभित्रैबाट चुनावको घोषणा गर्न दबाव बढ्न थालेपछि उनी चुनावको मिति घोषणा गर्ने मनस्थितिमा पुगेका हुन् । अब बस्ने मन्त्रिपरिषद बैठकले निर्वाचनको मिति तोक्ने छ ।

सत्ता गठबन्धनमा जेठ महिनाभित्रै चुनाव गर्ने सहमति जुटेसँगै स्थानिय र्विाचन समयमै हुने निश्चित भएको छ । निर्वाचन आयोगले समेत उक्त निर्णयलाई सकारात्मक भएको बताएको छ ।