सीपी गजुरेल भन्छन्-एमसीसीका कारण गठबन्धन फुट्ने अवस्थामा पुग्यो

सीपी गजुरेल भन्छन्-एमसीसीका कारण गठबन्धन फुट्ने अवस्थामा पुग्यो


काठमाण्डु- नेकपा (क्रान्तिकारी माओवादी) नेता सीपी गजुरेलले एमसीसीका कारण हालको पाँच दलीय गठबन्धन फूट्ने अवस्थामा पुगेको बताएका छन् । बुधबार काठमाण्डु पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता गजुरेलले एमसीसीका कारण सत्ता गठबन्धन फूट्ने अवस्थामा पुगेको बताएका हुन् ।

‘अहिले एमसीसीको सकंट हेर्नुस् त । गठबन्धन अहिले टुट्ने हो कि भरे टुट्ने जस्तो भइराखेको छ । कार्यपालिकामा संकट छ । व्यवस्थापिकामा संकट छ । उनीहरु नै भन्छन् । हामीले मात्रै भनेको होइन ।’ गजुरेलले भने । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका राज्यका मुख्य तीन अंग असफल भइसकेको समेत उनले दाबी गरे ।

उनले भने, ‘प्रतिक्रियावादीहरुको एउटा हिस्साले के भन्छ भने संकटैसंकट छ । न्यायपालिकाको हालत हेर्नुस् त । सर्वोच्च अदालतको प्रधानन्यायाधीशको हालत कस्तो छ ? न्यायपालिका पनि असफल भएको छ ।’ नेता गजुरेलले दक्षिणपन्थी अवसरवादमा पतन भएकाले प्रचण्ड र विप्लवहरूसँग आफ्नो पार्टीले एकता गर्ने कुनै सम्भावना नरहेको बताएका छन् ।