बालुवाटारमा एमालेले भन्यो : एमसीसीबारे पहिले सत्तापक्ष क्लियर हुनुस्

बालुवाटारमा एमालेले भन्यो : एमसीसीबारे पहिले सत्तापक्ष क्लियर हुनुस्


काठमाण्डु – बालुवाटारमा बसेको शीर्ष तीन दलको बैठक सकिएको छ । आज अपराह्न ४ बजेदेखि बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सुरु भएको बैठक केहिबेर अघि सकिएको हो ।

छलफलमा देउवाले एमसीसी सम्झौता अघि बढाउन एमाले अध्यक्षसँग आग्रह गरेका थिए । छलफलमा प्रचण्डले एमसीसीलाई चुनावपछि लैजानुपर्ने धारणा राखेका थिए । तर, प्रमुख प्रतिपक्षी दलका नेता ओलीले भने एमसीसीका विषयमा पहिले सत्ता गठबन्धनको स्पष्ट धारणा आउनुपर्ने बताएका थिए ।

छलफलमा सहभागी एमाले महासचिव शंकर पोखरेलले संसद् अवरोध खुलाउन सत्ता पक्षले पहल गरोस् भन्ने विषयमा पनि आफूहरूले धारणा राखेको बताए । ‘सरकारले संसद्मा प्रतिपक्षीको उपस्थिति चाहन्छ भने एमालेका मागहरु सम्बोधन गर्नुपर्छ भनेका छौं,’ उनले भने, ‘एमसीसीका बारेमा सत्तापक्षले स्पष्ट दृष्टिकोण सार्वजनिक नगरेसम्म एमालेले आफ्ना धारणा सार्वजनिक गर्दैन ।’ सत्तारुढ दलभित्रै एमसीसीबारे नेताहरु एकमत छैनन् ।

यसअघि सरकारमा हुँदा पटक पटक एमसीसी पास गरिनुपर्ने धारणा राख्दै आएको एमाले सत्ताबाट बाहिरिएपछि भने एमसीसीबारे मौन छ । उसले पछिले सत्ता पक्षबाट स्पष्ट धारणा आउनुपर्ने भन्दै पर्ख र हेरको रणनीतिमा छ ।
स्थानीय तहको निर्वाचन समयमै गर्ने प्रतिबद्धता प्रधानमन्त्री देउवाले व्यक्त गरेको पोखरेलले बताए ।