काठमाण्डु- राजनीतिक दलहरु स्थानीय तहको निर्वाचनको तयारीमा जुटेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठेकले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते तोकेपछि राजनीतिक दलहरु तयारीमा जुटेका हुन् । प्रदेश र संघको निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले पनि स्थानीय निर्वाचनमा पहिलो हुने गरि रणनीति बनाउँदै दलहरू तयारीमा जुट्न थालेका छन् ।
नेपाली कांग्रेसले आगामी २७ माघमा बोलाएको कार्यसम्पादन समिति बैठकमा स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गर्ने भएको छ । बैठकपछि कांग्रेस निर्वाचनको तयारीमा जुट्ने महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । २०७४ मा भएको स्थानीय तह निर्वाचनमा कांग्रेस दोस्रो दल भएको थियो । त्यसैगरी (माओवादी केन्द्र) ले पनि २८ र २९ माघमा बोलाएको बैठकबाट केन्द्र्रीय सदस्यहरूलाई जिम्मेवारी दिएर निर्वाचन केन्द्रित तयारीमा खटाउने भएको छ । नेता गणेश साहले निर्वाचन तयारी बैठकको एजेन्डा रहेको बताए ।
त्यसैगरी यता प्रमुख विपक्षी दल नेकपा एमालेले पनि स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न निर्देशन दिइसकेको छ । एमालेका उपाध्यक्ष सुवास नेम्बाङले जिल्ला अधिवेशन र महाधिवेशनकै बेलादेखि अनौपचारिक ढंगले स्थानीय तह निर्वाचनको तयारी गरेको बताए । २०७४ मा एमाले स्थानीय तहको निर्वाचनमा पहिलो दल भएको थियो ।
एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी पनि निर्वाचनको तयारीमा जुट्दै छन् । राप्रपा भने महामन्त्री भुवन पाठकको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेर यसअघि नै निर्वाचनमा होमिएको छ ।




प्रतिक्रिया