काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पूर्व अध्यक्ष कमल थापालाई पार्टी परित्याग गर्ने निर्णयमा पूर्नविचार गर्न आग्रह गरेको छ । थापाले पार्टी छोडेको घोषणा गरेलगत्तै बसेको राप्रपा पदाधिकारीको बैठकले उक्त निर्णयमा दुख व्यक्त गर्दै पूर्नविचार गर्न आग्रह गरेको हो ।
थापाको निर्णयलाई राप्रपाले ‘अनपेक्षित तथा अप्रत्यासित’ समेत भनेको छ । ‘राप्रपाको ऐतिहासिक एकता महाधिवेशनपछि राप्रपाको लोकप्रियतामा बृद्धि तथा राष्ट्रिय शक्तिका रूपमा उदय र विकास भईरहेको समयमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्यासित रूपमा व्यक्तिगत तवरले पार्टीबाट अलग हुने भनि गरिएको घोषणाप्रति दुःख प्रकट गर्दछौं’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीबाट अलग हुने उहाँको निर्णयमा पुनर्विचार गर्न राप्रपा अनुरोध गर्दछ ।’
राप्रपा पार्टी स्थापनाको उद्देश्य, हालै सम्पन्न महाधिवेशनले तय गरेको राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना लगायतका सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।




प्रतिक्रिया