सभामुख सापकोटाले किन गरे प्रतिनिधिसभाको बैठक स्थगित ?

सभामुख सापकोटाले किन गरे प्रतिनिधिसभाको बैठक स्थगित ?


काठमाण्डु- प्रतिनिधिसभाको बुधबार बोलाइएको बैठक स्थगित गरिएको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक मंगलबार राति नै स्थगित गरिएको हो । सरकारले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बुधबारको संसद् बैठकमा टेबुल गर्ने तयारी गरिरहेका बेला सो बैठक फागुन २ गतेसम्मका लागि स्थगित गरिएको छ । एमसीसीका कारण प्रतिनिधिसभा बैठक ६ पटक स्थगित भएको छ ।

यसअघि १६ गते बोलाइएको बैठक पनि १५ गते राति स्थगित गरी २६ गते बुधबारका लागि बोलाइएको थियो । एमसीसी विवादका कारण संसद बैठक स्थगित भए पनि अघिल्लो पटक कोरोनालाई कारण देखाइएको थियो, यसपटक ‘विशेष कारणबस’ स्थगित भनिएको छ ।

पछिल्लो समय एमसीसी संसदबाट पारित गर्ने की नगर्ने भन्ने विषयले सत्ता गठबन्धनभित्र खैलाबैला मच्चिएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदबाट एमसीसी पास गर्ने रणनीतिमा लागेका छन् । तर अन्य सत्ता साझेदार दलहरुमा भने एमसीसी संसदबाट पास गर्ने की नगर्ने भन्ने विषयमा मतभेद देखिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले कुनै पनि हालतमा एमसीसी संसदबाट पारित हुन नदिने अडान लिएका छन् । उनले एमसीसीमा राजनीतिक दलहरुबीच सहमति नभए सम्म संसदबाट पारित हुन नदिने अडान कायम राखेका हुन् । स्रोतका अनुसार आज बोलाइएको प्रतिनिधिसभाको बैठक पनि एमसीसी कै कारण सभामुख सापकोटाले स्थगित गरेका हुन् ।

मंगलबार दिउँसो कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख सापकोटालाई भेटेर बुधबारको संसद् बैठकमा एमसिसी टेबुल गर्ने बताएका थिए । प्रधानमन्त्री देउवाको सन्देश लिएर आएका मन्त्री बडूलाई एमसिसी टेबुल गर्न अझै हतार नभएको भन्दै सभामुख सापकोटाले दलीय सहमतिपछि मात्रै टेबुल गर्न आग्रह गरेका थिए ।

कानुनमन्त्री बाहिरिएपछि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बुधबार बिहान ११ बजे डाके । एमसिसी संसद्मा टेबुल गर्ने विषय कार्यसूचीमा राख्ने-नराख्ने निर्णय गर्न सभामुख सापकोटाले प्रतिनिधिसभाको बैठक बस्नु भन्दा २ घण्टा अघि ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए ।

सभामुखको सन्देश लिएर कानुनमन्त्री बडू प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुगेका थिए । मन्त्री बडूसँगको भेटपछि प्रधानमन्त्री देउवाले जसरी भए पनि प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्ने बताएको स्रोतको दावी छ । देउवाले एमसिसी टेबुल गर्ने अडान लिएपछि (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको आग्रहमा सभामुख सापकोटाले बैठक स्थगित गरेको स्रोतले जनाएको छ ।

 प्रचण्ड-माधवले एमसीसीका केही बुँदा संशोधन नगरी अनुमोदन गर्न नसकिने बताउँदै आइरहेका छन् । यी दुबै अध्यक्षले बाहिरी रुपमा यस्तो बताए पनि तिनै तहको चुनावमा गठबन्धन कायम गरे एमसीसी पास गर्ने प्रस्ताव प्रधानमन्त्री देउवासँग राखेको स्रोतको दाबी छ ।