काठमाण्डु – नेकपा एमालेको प्रदेशस्तरीय निर्वाचन केन्द्रीत प्रशिक्षण आजबाट सुरु हुँदैछ । वर्तमान परिस्थिति र स्थानीय तहको निर्वाचनको तयारीका विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज कार्यकर्तालाई प्रशिक्षण दिने भएका हुन् ।
शुक्रबार दिउँसो १ बजे ओलीले भर्चुअल माध्यमबाट प्रशिक्षण मन्तव्य दिने तयारी भइरहेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । फागुन १ गतेबाट प्रदेशस्तरमा हुन गइरहेको प्रशिक्षण कार्यक्रमको आज अध्यक्ष ओलीले शुभारम्भ गर्न लागेका हुन् ।
उद्घाटन सत्रमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरु सहभागी हुने जनाइएको छ । पोखरेलले आइडी प्राप्त भएका सबै सहभागी प्रत्यक्षरुपमा र पार्टी सम्वद्ध सबै कार्यकर्तालाई आफूलाई अनुकूल हुने गरी अध्यक्षको विशेष सम्बोधन सुन्न निर्देशन दिएका छन् ।
एमालेले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ । महासचिव पोखरेलले माघ २५ गते प्रदेश कमिटीहरुका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिएका थिए ।
सरकारले पार्टीको लगातारको दबाब, निर्वाचन आयोगको ताकेता, जनस्तरबाट व्यक्त खबरदारी समेतका कारण सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेका थिए ।
सातै प्रदेशमा हुने प्रशिक्षणको पहिलो दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म र दोस्रो दिन बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म रहने एमालेले जनाएको छ ।
कहिले कहाँ प्रशिक्षण ?
प्रदेश–१ : फागुन १– २, विराटनगर
मधेस प्रदेश : फागुन ३–४, जनकपुर
बागमती प्रदेश : फागुन ६–७, काठमाण्डु
गण्डकी प्रदेश : फागुन ८–९, पोखरा
लुम्बिनी प्रदेश : फागुन ११–१२, बुटवल÷दाङ
कर्णाली प्रदेश : फागुन १४–१५, सुर्खेत
सुदूरपश्चिम प्रदेश : फागुन १६–१७, धनगढी




प्रतिक्रिया