काठमाण्डु – नेकपा माअोवादी केन्द्रको आजबाट सुरु हुने भनिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । पदाधिकारी चयन गर्ने भन्दै यहि माघ २८ र २९ गते काठमाण्डुको प्रज्ञा भवनमा बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कारण बैठक स्थगित भएको पाइएको छ । माअोवादी नेता हरिबोल गजुरेलले २ फागुनमा बस्ने संघीय संसद् बैठकमा एमसीसीले गर्दा विकसित हुन सक्ने राजनीतिक घटनाक्रमलाई नियालेर मात्रै केन्द्रीय समिति बैठक बस्ने बताए ।
‘संसद्मा एमसीसीबारे त क्लीयर हुनुपर्यो । क्लीयर नभइकन बैठक बसेर छलफल गर्नु उचित छैन । संसदमा एमसीसीबारेको अवस्था के हुन्छ ? त्यसपछि कसरी जाने ? के गर्ने ? अनि चाहिँ बैठक बस्नु ठीक हुन्छ’ नेता गजुरेलले भने । एमसीसीका कारण माओवादी विवादित छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २७ सेप्टेम्बर २०२१ मा एमसीसी कार्यालयलाई परियोजना अनुमोदन गरेर कार्यान्वयन गर्न सहमत रहेको भनि लेखेको पत्र सार्वजनिक भएसँगै माओवादी विवादित भएको हो ।
यसबारे पनि केन्द्रीय समितिमा छलफल हुने बैठकको एजेन्डा थियो । बैठकका अन्य एजेन्डाहरू भने स्थानीय निर्वाचन, निर्वाचन केन्द्रित जिम्मेवारी केन्द्रीय सदस्यहरूलाई दिने र महासचिवसहितको पदाधिकारी छनोट गर्ने पनि थियो ।




प्रतिक्रिया