जनकपुर – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धलाई भत्काउने प्रतिक्रियावादीको षड्यन्त्र सफल नहुने बताएका छन् ।
सत्ताइसौँ जनयुद्ध दिवसका अवसरमा जनकपुरमा आयोजित सहिद परिवारको सम्मान तथा राहत वितरण कार्यक्रममा प्रचण्डले गठबन्धलाई अझ सुदृढ र सबल बनाएर लैजाने प्रयत्न भइरहेकाले प्रतिक्रियावादी तत्वको गठबन्धन भत्काउने षड्यन्त्र सफल नहुने बताएका हुन् ।
‘गठबन्धन बनेदेखि नै प्रतिक्रियावादी, पूरा राजा महाराजा गठबन्धन भत्काउने षड्यन्त्रमा लागेका छन्’, उनले भने, ‘त्यो षड्यन्त्र अझै पनि जारी छ, तर हामी यो गठबन्धनलाई अझै सुदृढ बनाएर लैजाने प्रतिबद्धताका साथ अघि बढिरहेका छौँ, त्यसैले उनीहरुको त्यो सपना कहिले पूरा हुँदैन ।’
संविधान नस्वीकार्ने तथा परिवर्तनलाई आत्मसात् नगर्ने तत्वले गठबन्धनलाई भत्काउने, निर्वाचन कार्यक्रमलाई बिथोल्ने र फेरि पनि मुलुकको वातावरणलाई धमिलो बनाउने प्रयास गरिरहेकाले सबै सचेत हुनुपर्ने उनको भनाइ थियो ।
‘जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका बलमा पराजित भएकाप्रति क्रान्तिकारी प्रवृत्ति चुप लागेर बसेको छैन’, प्रचण्डले भने, ‘त्यसले अझै पनि प्रतिगमन गराउने नै कसरत चलाइराखेको छ र त्यसलाई मलजल गर्न देशभित्र र बाहिर विभिन्न खालका प्रतिक्रियावादी शक्ति सक्रिय नै छन् ।’
संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वय र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनेको उल्लेख गर्दै अध्यक्ष दाहालले अझै गठबन्धनलाई निरन्तरता दिनुपर्ने कुरालाई गठबन्धनका साथै नेताहरुले बुझेकाले तत्काल गठबन्धन नटुट्ने दाबी गरे ।
प्रदेशको नाम मधेस प्रदेश कायम गर्ने र पहिलो पटक औपचारिकरूपमै ‘जनयुद्ध’ दिवस आयोजना गरेर मधेस प्रदेश सरकारले ऐतिहासिक स्वागतयोग्य काम गरेको भन्दै उनले यसबाट देश र विदेशलाई नयाँ सन्देश गएको बताए ।
नयाँ आन्दोलन र अभियानका लागि सङ्कल्प लिने आएको जिकिर गर्दै उनले सङ्घर्षका लागि ऊर्जा प्राप्त गर्न मधेसी जनताका बीचमा जाने पार्टीले निर्णय लिएको सुनाए । जनयुद्धको थालनी मधेसबाटै गरेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष दाहालले आवश्यक परे पुनः मधेसी जनताका बीचमा जाने र ऊर्जा प्राप्त गर्ने योजना रहेको बताए ।




प्रतिक्रिया