एमसीसीको विरोधमा भोलि नेपाल बन्दको घोषणा, शान्ति–सुरक्षा चुस्त राख्न सरकारको निर्देशन

एमसीसीको विरोधमा भोलि नेपाल बन्दको घोषणा, शान्ति–सुरक्षा चुस्त राख्न सरकारको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भोलि बुधबार विभिन्न ५ राजनीतिक दल र एउटा मोर्चाले नेपाल बन्द आह्वान गरेपछि सरकारले शान्ति सुरक्षा चुस्त राख्न जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले आज फागुन ३ गते साँझ मसाल जुलुस प्रदर्शन गर्ने र फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको सूचना प्राप्त भएको भन्दै गृहमन्त्रालयले कानुन विपरीतका गतिविधिहरु हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो ।

‘नेपाल कम्युनिष्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले आज फागुन ३ गते साँझ मसाल जुलुस प्रदर्शन गर्ने र फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको भनी सूचना प्राप्त भएकोले सो सन्दर्भमा कानून विपरीतका उल्लेखित गतिविधिहरु हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रले उच्च सतर्कता र निगरानी बढाई जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउनुहुन आदेशानुसार अनुरोध छ’ गृहमन्त्रालयले भनेको छ ।

सरकारले एमसीसीलाई भोलि संसदमा टेबल गर्न लागेको भन्दै वामपन्थी दलहरु नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी बन्दको आह्वान गरेका छन् ।