काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी रोक्न अन्तिम प्रयास गर्ने भएका छन् । त्यसका लागि उनी प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन् ।
आज बसेको माओवादीको संसदीय दलको बैठकले एमसीसी संसदमा जबरजस्ती टेबुल गरिए विपक्षमा मतदान गर्ने, सरकार छाड्ने निर्णय गरेलगत्तै उनी बालुवाटार पुगेका हुन् । प्रचण्डले बालुवाटारमा देउवालाई पार्टीका निर्णय सुनाउनेछन् । र एमसीसीबारे राष्ट्रिय सहमति जुटाउन आग्रह गर्नेछन् ।
एमसीसीबारे सत्ता साझेदार दलभित्रै विवाद छ । नेपाली कांग्रेस एमसीसी यथास्थितीमा पास गनुपर्ने पक्षमा छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधनबिना पास गर्न नहुने पक्षमा छन् । जसपा नेपाल हालसम्म मौन बसेको छ भने राष्ट्रिय जनमोर्चा एमसीसीको विरोधमा सडकमा उत्रिसकेको छ ।
यस्तोमा उनले गठबन्धनमै सहमति नजुटेकाले एमसीसी टेबल नगर्न अन्तिम प्रयासस्वरुप आग्रह गर्ने दलको बैठकमा आफ्ना सांसदलाई जानकारी गराएका छन् । तर देउवा नमानेको खण्डमा उनले सरकारबाट बाहिरिने र त्यसबाट पर्ने सबै असर ब्यहोर्न तयार रहेको बताएका छन् ।
उनले भने, ‘आज टेबुल नगर्नको निम्ति हामी अनुरोध गर्छौं, जबर्जस्ती टेबुल भयो भने त्यसबाट पर्ने सबै असर व्यहोर्न तयार छौँ, सरकार छोड्ने हो कि गठबन्धन तोड्ने हुन्छ कि परेको व्यहोर्ने हो ।’
उनले एमसीसी सदनमा टेबुल हुनुपूर्व दलहरूबीच राष्ट्रिय सहमति जुट्नुपर्ने बताए । ‘पहिला संसद सुचारु हुनुप¥यो । सहमति हुनपर्यो । सहमति नभइकन पेस भयो भने त्यसपछि सरकारमा बस्ने कि नबस्ने भन्ने हुन्छ, हामी पर्यो भने सरकार छोड्छौँ’, बैठकमा प्रचण्डको भनाई उदृत गर्दै प्रमुख सचेतक देव गुरुङले भने ।
त्यस्तै माओवादीले संसदमा एमसीसी पेश गर्न अवरुद्ध संसद् खोल्नुपर्ने माग राखेको छ । नेकपा एमालेको अवरोधका कारण संसद बैठक बस्न सकेको छैन । आजको बैठक पनि एमालेले अवरोध गर्ने तयारी गरेको छ। आफूले कारवाही गरेका सांसदहरुलाई हटाउनुपर्ने र सभामुख अग्नि सापकोटाको राजीनामा माग्दै एमालेले संसद चल्न दिइरहेको छैन ।
यस्तै, माओवादीले संसदमा एमसीसी पेश गर्न गठबन्धन भित्र सहमति हुनुपर्ने वा राष्ट्रिय सहमति हुनुपर्ने शर्त अघि सारेको छ ।गठबन्धनमा रहेको माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चा एमसीसी संसदबाट अहिले नै पारित गर्ने पक्षमा छैनन् ।
नेपाली कांग्रेस एमसीसी पारित गर्नुपर्ने पक्षमा छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि एमसीसीको पक्षमा रहेको बताइन्छ । तर, मंगलवार भएको संसदीय दलको बैठकमा सांसदहरुले एमसीसीलाई बोक्न नहुने मत राखेका थिए । एमसीसीका बारेमा निर्णय गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ ।
माओवादीले संसदमा एमसीसी पेश गर्न त्यसमा रहेको राष्ट्रिय हित विपरितका प्रावधानहरु संशोधन हुनुपर्ने माग राखेको छ । माओवादीले पहिलादेखि नै एमसीसीका केही प्रावधानहरु मागि प्रश्न उठाउँदै आएको छ ।
पछिल्लो समय एमसीसीलाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई पठाएको पत्र र एमसीसीले पठाएको जवाफी पत्र सार्वजनिक भएपछि सत्तारुढ गठबन्धन भित्र सकस बढेको छ ।




प्रतिक्रिया