काठमाण्डु- गायिका समीक्षा अधिकारीसँगको सम्बन्धले विवादमा तानिएका मोडल पल शाहले सोमबार सार्वजनिक भएको अडियोमा सुनिएको आवाज आफ्नो नभएको बताएका छन् । गायिका समीक्षा अधिकारीसँगको सम्बन्धबारे अडियो ‘लिक’ भएपछि पल शाहले मुख खोलेका हुन् । पलले समाजिक सञ्जाल फेसबुकमार्फत फरक प्रसंग र चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएको संवादलाई वास्तविक जीवनमा जोड्न खोजिएको दावी गरेका छन् ।
‘प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसँग मिलेको जस्तो भएता पनि उक्त आवाज मेरो हो भन्नेमा पूर्ण शंका रहेको, प्रविधिको कुटिल प्रयोगमार्फत जस्तोसुकै र जोसुकैको आवाजलाई भिन्न-भिन्न ढंगबाट प्रयोग गर्न सकिने कुरा सामान्य भइसकेको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘यहाँ पनि फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका सम्वादहरूलाई हाम्रो वास्तविक जीवनसँग जोड्ने प्रयासमा रहनु भएका मेरा केही पुरुष सहकर्मी (व्यावसायिक प्रतिस्पर्धी) ले निज गायिकालाई मेराविरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो, निज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरूले उकासे बमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिपोर्टले थप पुष्टि गरेको छ ।’
उनले आफूविरुद्ध आएका समाचारहरू वास्तविकताभन्दा टाढा रहेको बताउँदै आफूलाई पुर्ण विश्वास गर्न पनि अपिल गरेका छन् । उनले आफ्नो करियर सिध्याउने आफ्नै केही सहकर्मी लागेको र त्यसको प्रमाण आफूसँग रहेको पनि उल्लेख गरेका छन् । ‘एक अविवाहित गायिका, नायिका र उच्च शिक्षा पढ्दै गरेकी कसैको छोरी चेलिबेटीको नाम र तस्वीरसमेत सार्वजनिक गर्दै मसँग हुँदै नभएको प्रेम र विवाहका समाचार बनाएर हाम्रो चरित्र हत्या गर्न कुनै पनि मिडियालाई छुट हुँदैन, हुनु हुँदैन,’ उनले भनेका छन् । उनले आफूसँग आफ्नो प्रतिस्पर्धीहरूले गायिकालाई उकासेको अडियोलगायतका प्रमाण आफूसँग रहेको र आधिकारिक निकायले माग गरेका पेश गर्ने पनि दावी गरे ।
पल र समिक्षाबीको विवाद
केही समय पहिला मोडल पल र गायिका समिक्षाबीच अनैतिक सम्बन्ध रहेको र उक्त कुरा बाहिर नआओस भनेर रुपयाँको चलखेल भएको भन्ने कुराले निकै सामाजिक सञ्जाल तातिएको थियो । त्यस लगत्तै पल र समिक्षले नै आफ्नो फेसबुकमार्फत नभएको कुराहरुमा आफ्नो चरित्र हत्या गरिएको भन्दै आपत्ति जनाएका थिए ।
पछि आएर यो कुरा बिस्तारै सेलाउँदै गएको थियो तर पछिल्लो समय गायिका अधिकारिले फेरि आफ्नो फेसबुकमा दिनहुँ स्टाटस लेख्दै कुरा गम्भीर रहेको रहस्य खुलाउँदै आएकि छिन । समिक्षाले साँच्चिकै अन्यायमा परेको र त्यो स्टाटस कसैको दबाबमा लेखेको र बिस्तारै सबै यथार्थ खुलाउने जानकारी दिएकी थिइन् ।
उनले २४ अक्टोबर २०२१ मा लेखिएको स्टाटस सहित एक पोष्ट गर्दै भनेकी थिइन्, ‘म लामो केही भन्दिन । २४ अक्टोबर २०२१ मा मेरो फेसबुकमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ । जुन कसैको अनुनयमा लेखेको थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउँदैछु ।’ गत २४ अक्टोबरमा उनले पल र आफ्नो बीच अभिभावकको सम्बन्ध भएको बताउँदै मिडियामा आएको अन्तरंग सम्बन्धको समाचारले चरित्र हत्या भएको बताएकी थिइन् । तर अहिले भने उनले शो स्टाटस नै झुट भएको संकेत गरेकी छिन् ।
केही दिन अघि उनले नारी शक्तिलाई कमजोर नठान्न चेतावनी दिएकी थिइन् । ‘यदि कसैले नारीलाई कमजोर सोचेर उसको विश्वास र भावना माथि खेल्यो भने उनले नारी शक्तिको सामाना गर्न सक्दैन’ उनले लेखेकी थिइन् ।




प्रतिक्रिया