सिईयो खुञ्जेलीले भनिन् – मेगा बैंक नेपालको बैंकिङ क्षेत्रमा उत्कृष्ट ब्राण्डका रुपमा स्थापित भइसक्यो

सिईयो खुञ्जेलीले भनिन् – मेगा बैंक नेपालको बैंकिङ क्षेत्रमा उत्कृष्ट ब्राण्डका रुपमा स्थापित भइसक्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेड नवौँ बर्षमा प्रवेश गरेको छ । आठौँ बर्ष पूरा गरी नवौँ बर्षमा प्रवेश गरेको अवसरमा सोमबार काठमाडौंमा आयोजित बार्षिकोत्सव कार्यक्रममा अध्यक्ष भोजबहादुर शाहले चुक्तापुँजीका रुपमा देशकै दोस्रो ठूलो बैंकको रुपमा स्थापित हुन सक्नु मेगा बैंकको सफलता भएको बताए । चुक्ता पुँजी, व्यावसायको आकार, कर्मचारी संख्या र नेटवर्कका हिसाबले पनि मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएकाले चालु आर्थिक बर्ष २०७५÷७६ देखि मेगा बैंकको मुनाफामा निकै बृद्धि हुने उनको दाबी थियो ।

अध्यक्ष शाहले आगामी चार बर्षभित्र बैंकको आफ्नै कर्पोरेट भवन बनाउने जानकारी पनि दिए । यसैगरी, संघीय संचरना अनुसार हरेक प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गरी मेगा बैंकको सञ्जाललाई व्यापक बनाइने शाहको भनाई थियो ।

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले छोटो समयमै मेगा बैंक नेपालको बैंकिङ क्षेत्रमा उत्कृष्ट ब्राण्डका रुपमा स्थापित भएको दाबी गरिन् । ‘हामीले बितेको आठ बर्षमा मेगा बैंकलाई एउटा सफल वित्तीय संस्थाका रुपमा स्थापित ग¥यौँ, टुरिजमसँगको मर्जरपछि झन् मेगा बैंक चुक्ता पुँजीका आधारमा नेपालकै दोस्रो ठूलो बैंक बन्न सफल भएको छ । ग्राहकहरुको विश्वास जित्दै हामी निरन्तर अघि बढिरहन्छौँ ।’, सिइओ खुञ्जेलीले भनिन् ।

बार्षिकोत्सवको अवसरमा सिइओ खुञ्जेलीले तीन वटा आकर्षक कर्जा योजनाहरु पनि सार्वजनिक गरिन । साना तथा मझौला व्यावसायको प्रबर्धनका लागि ‘मेगा साना तथा मझौला कर्जा’, आवास तथा गाडी लिन चाहने मध्यमवर्गीय नेपालीका लागि ‘मेगा घर तथा गाडी कर्जा’ र विभिन्न पेशा व्यावसायमा संलग्नहरुलाई बिनाधितो ऋण प्रदान गर्ने गरी ‘मेगा प्रोफेशनल लोन’ योजना सार्वजनिक गरिएको छ । यी तीन वटै कर्जा योजनाहरु ग्राहकले मेगा बैंकको जुनसुकै शाखाबाट प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय गरिने र ७ दिनभित्र कर्जा प्रवाह गरिने सिइओ खुञ्जेलीले बताउनुभयो ।

‘हलोदेखि हाइड्रो’सम्म भन्ने नारा बमोजिम मेगा बैंकले साना मझौला व्यवसाय (एसएमई) र लघुबित्तलाई प्राथमिकतामा राख्दै आएको छ । गत आर्थिक बर्षमा निक्षेप संकलन ११ अर्ब ८२ करोड बढेर ६३ अर्ब पुगेको छ । यसैगरी, कर्जा प्रवाह पनि करिब ११ अर्ब बढेर ५७ अर्ब २६ करोड पुगेको हो । ग्राहक संख्या ५ लाख रहेको छ । कर्जाको औसत आकार २९ लाख ५५ हजार र निक्षेपको १ लाख २२ हजार रहेको छ ।

स्थापनाको नवौँ बर्षमा आइपुग्दा मेगा बैंकले १०१ वटा शाखा विस्तार गरेको छ । यसैगरी, देशभर १४ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल र ७४ वटा एटीएम छन् ।

सहयोग हस्तान्तरण

यसैबीच, वार्षिकोत्सवका अवसरमा मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौँको महाराजगन्जमा संचालित पौरखी नेपाल र उपल्लो डोल्पाका गरिब तथा जेहेन्दार विद्यार्थी छिरिङ तावा बुढालाई उच्च शिक्षा अध्ययनका लागि १–१ लाख रुपैँया सहयोग गरेको छ । एक सय जना गरिब तथा अनाथ बालबालिकालाई पौरखी नेपालमार्फत शिक्षाको दिने योजना अन्तरगत मेगा बैंकले एक लाख रुपैँया सहयोग गरेको हो ।

यसैगरी, एसईई सके पनि उच्च शिक्षा अध्ययन गर्नका लागि आर्थिक अभाव झेल्दै आएका डोल्पाका बुढाको पढ्ने सपना पूरा होस् भन्ने हेतुले १ लाख रुपैँया सहयोग गरिएको मेगा बैंकले जनाएको छ । आठौँ बार्षिकोत्सव कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र सिइओ अनुपमा खुञ्जेलीले उनीहरुलाई सहयोग रकम हस्तान्तरण गर्नुभयो । मेगा बैंकले बार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्था र व्यक्तिलाई हरेक बर्ष सहयोग गर्दै आएको छ ।