वैशाख ३० मा पाँच दललाई सात दिन नउठ्ने गरी पछार्छौं : केपी ओली

वैशाख ३० मा पाँच दललाई सात दिन नउठ्ने गरी पछार्छौं : केपी ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा पाँच दलीय गठबनधलाई उठ्नै नसक्ने गरी पछार्ने चेतावनी दिएका छन् ।

पोखरामा गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमसीसी पास गरेरै भएपनि गठबन्धन जोगाउने तयारीमा पाँच दल लागेको भन्दै गठबन्धन कायम रहे पनि उनीहरुलाई सात दिन उठ्नै नसक्नेगरि पछार्ने बताएका हुन् ।

‘गठबन्धन टुट्यो भने विचराहरू धुलोपिठो हुन्छन् । त्यसैले यो गठबन्धन टुट्दैन, टुट्न दिनु हुँदैन । हामी लड्न बोलाउँदा वान बाई वान होइन पाँचै दल आऊ भनेर बोलाउँछौं । ३० वैशाखमा उनीहरूलाई सात दिन नउठ्ने गरी पछार्छौं,’ उनले भने ।

त्यस्तै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दोहोरो चरित्रका कारण देशमा संकट आएको बताए । पुतलीको चिनियाँ कथा सुनाउँदै उनले प्रचण्डको चरित्र पनि छुट्याउनै नसक्ने खालको भएको बताए । त्यसअघि उनले चिनियाँ कथा सुनाए ।

चिनियाँ एउटा कथा छ, एउटा पुतली उड्दै रस चुस्दै गयो । टन्न अघाएर डालीमा बस्दा निदाएछ । निदाउँदा उसले मान्छेको सपना देखेछ । युवा हुर्केर केटीसँग बिहे गरेछ । जागिर खाएछ, छोराछोरी भएछ । अनेक काम गर्दै गएछ । त्यतिबेलै पानीको थोपो परेछ र झल्याँस्स ब्युँझिएछ । अनि अघिको सपना रहेछ म त पुतली रहेछु भन्ने थाहा पायो । पुतली भयो फेरि उड्यो, अर्को पुतली भेट्यो । जिन्दगी रमाइलोसँग बित्दै थियो, फेरि श्रीमतीले छिटो उठ बुढा भनेर बोलाइछे । ऊ अलमलमा परेछ । म पुतली हो कि मान्छे ?

कथा सुनाएपछि ओलीले भने, ‘प्रचण्डले २९ सेप्टेम्बरमा पाँच महिनामा एमसीसी पास गर्छु भनेर संयुक्त पत्र पठाएका छन् । अस्ति फेरि एमसीसी पास नगर्ने भनेका छन् । यो मान्छे हो कि पुतली हो ? कुन सही हो, कुन गलत हो ?’

उनले एमसीसी पास गर्नका लागि पर्याप्त मत सरकारसँग रहेको बताए । ‘एक सय ६५ भोट सरकारसँग छ । एमसीसी पास गर्ने भनेको छ,’ उनले भने, ‘एमसीसीको बारेमा हामीले चिन्ता लिनुपर्दैन । एमाले देश र जनताको हितभन्दा बाहिर, कसैका धाकधम्कीका पछि लाग्दैन । देशको हितका पक्षमा के छ भन्ने कुरा छुट्याउन र बुझ्न सक्छ ।’