काठमाडौं – सत्तासीन नेताले कतिसम्म पदीय रवाफ देखाउन सक्छन् भन्ने उदाहरण बनेका छन् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव। पदकै आडमा उनले मंगलबार काठमाडौंबाट बैंकक उड्नै लागेको थाई विमान झन्डै ४५ मिनेट रोक्न बाध्य पारिदिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।
यादवले आफू विमानस्थल पुग्न ढिलो भएपछि थाई एअरवेजका कर्मचारीलाई दबाब दिएर उडान ४५ मिनेट पछाडि सार्न लगाएको विमानस्थल अध्यागमन कार्यालयका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार यादव मंगलबार हतारहतार कूटनीतिक राहदानी (रातो पासपोर्ट) बनाएर बैंकक जाने तयारीमा थिए ।
विमान बिहान ११:३० मा काठमाडौंबाट उड्ने समयतालिका थियो । तर, यादवका कारण १२:१५ मा मात्र उड्यो । ‘यादव विमानस्थल जाने बेला निवासमा राहदानी खोज्दा पाइएन, नयाँ बनाएर जाँदा एअरपोर्ट पुग्न ढिलाइ भएको हो,’ मन्त्रीनिकट स्रोतले भन्यो ।
उनी विमानस्थल पुग्दा थाई विमान ढोका बन्द गरेर उड्न लागिसकेको थियो । यादवका तर्फबाट विमानस्थल अधिकारीले दबाब दिएपछि थाई विमान ४५ मिनेट प्रतीक्षा गर्न बाध्य भयो । उडान ढिलो हुँदा बैंकक हुँदै अन्य गन्तव्य जान लागेका थुप्रै यात्रुको ‘कनेक्टिङ फ्लाइट’ छुटेको थाई एअरवेजका कर्मचारीले जानकारी दिए ।
कर्मचारीका अनुसार यादव विमानस्थल पुग्दा यात्रुलाई बोर्डिङ पास दिइसकेको थाई एअरवेजको काउन्टर बन्द भइसकेको थियो । क्याप्टेन विमानको ढोका बन्द गरेर उडाउने तयारीमा थिए । तर, यादवले पदीय प्रभावमा बन्द भइसकेको विमानको ढोका खोल्न लगाए ।
यादवका सहयोगीले विमान उड्न बाँकी रहेकाले मन्त्रीका लागि केही समय पर्खिन अनुरोध गरिएको, पदीय प्रभाव भने नपारेको दाबी गरे । थाई एअरवेजका कर्मचारीले भने भीआईपी ९उपप्रधानमन्त्री० आफ्नो विमानमा जाँदै छन् भन्ने जानकारीसमेत आफूहरूले नपाएको बताए । जबकि भीआईपीको उडानबारे पहिल्यै जानकारी दिने चलन छ ।
‘जहाजको ढोका बन्द गरेपछि खोल्ने गरिँदैन । उपप्रधानमन्त्री यादवले आफ्नो शक्ति प्रयोग गरेर विमानको नियमित उडान तालिकालाई ४५ मिनेट प्रभावित पार्नुभयो । त्यसले गर्दा बैंककबाट कनेक्टिङ फ्लाइट भएका थुप्रै यात्रुले उडान छुटाए,’ थाई एअरवेजका कर्मचारीले भने । उनका अनुसार यादवको दबाब आएपछि मात्र थाई एअरवेजले आफ्नो विमानमा भीआईपी उडदै छन् भन्ने थाहा पाएको हो ।
थाई एअरवेजको काउन्टर बन्द भइसकेकाले यादवलाई हस्तलिखित बोर्डिङपास दिइएको स्रोतले उल्लेख गरेको छ । पूर्वनिर्धारित तालिकाअनुसार थाइल्यान्डको महिडोल विश्वविद्यालयमा जुलाई २५ र २६ मा स्वास्थ्यसम्बन्धी कार्यक्रममा सहभागी हुन यादव बैंकक गएका हुन् । यादव साउन ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।यो समाचार आजको कान्तिपुर दैनिमा छ ।




प्रतिक्रिया