स्थानीय निर्वाचन आचारसंहितामाथि एमालेको आपत्ति, भन्यो- चुनाव लड्न प्रधानमन्त्रीले अग्रिम राजीनामा दिनुहन्छ ?

स्थानीय निर्वाचन आचारसंहितामाथि एमालेको आपत्ति, भन्यो- चुनाव लड्न प्रधानमन्त्रीले अग्रिम राजीनामा दिनुहन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय निर्वाचनसम्बन्धी निर्वाचन आयोगको निर्णयमाथि आपत्ति जनाएको छ ।स्थानीय तहको आगामी निर्वाचनमा उम्मेदवार बन्न चाहने वहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आयोगको व्यवस्थामा एमालेले आपत्ति जनाएको हो ।

एमालेका उपमहासचिव विष्णु रिमालले स्थानीय चुनावमा जानुअघि पालिकाका मेयर वा अध्यक्षले राजीनामा दिन नपर्ने तर्क गरेका छन् । मेयर वा अध्यक्ष स्थानीय तहको प्रधानमन्त्री भएको भन्दै उनले पद खाली गरेर चुनावमा जान नपर्ने तर्क गरेका हुन् ।

‘प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन,’ उनी भन्छन्, ‘स्थानीय तहका ‘प्रधामन्त्री’ पालिका अध्यक्ष वा मेयर चाहिँ पद खाली गरी चुनावमा जानुअघि जनतालाइ दिनुपर्ने सेवा नै बन्द गर्नुपर्ने किन ?’

चुनावमा पदको दुरुपयोग हुन नहुने तर सेवा नै प्रभावित हुने गरी पद खाली गर्न नहुने उनको भनाइ छ । ‘निर्वाचनमा जाँदा पदको दुरुपयोग नहोस् सोच्नु पर्ला तर यसलाई देखाएर काम नै रोक्नु कसरी ठिक हुन्छ ?’ उनको प्रश्न छ ।

त्यस्तै एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले स्थानीय तहको निर्वाचन लड्न जनप्रतिनिधिले पदबाट अग्रिम राजीनामा दिनुपर्ने प्रावधान विभेदकारी, पूर्वाग्रही र हास्यास्पद रहेको बताएका छन् ।

रिजालले भनेका छन्– ‘के त्यो भए प्रतिनिधिसभाको निर्वाचन हुँदा प्रधानमन्त्री शेरबहाहदुर देउवा र उहाँका मन्त्रीहरुले पहिल्यै राजीनामा दिनुहुन्छ ? पदमा रहेर चुनाव लड्न पाइने होइन भने चुनाव गराउन या देशमा निर्दलीय सरकार बनाउनुपर्ने भयो या त प्रधानमन्त्रीमन्त्रीहरु नहुँदा सरकारबिना नै चुनाव गराउनुपर्ने भयो,’ उनले सामाजिक सञ्जालमा प्रश्न गरेका छन् ।

उनले अगाडि भनेका छन्, ‘स्थानीय तहमा एमाले का जनप्रतिनिधि बढी छन् र फेरि पनि उनीहरुले नै जित्ने हुन् भन्ने नाममा यति हाँस्यास्पद निर्णयमा पुग्दा सामान्य तथ्यको त ख्याल हुनुपर्ने हो ।’

स्थानीय तहको निर्वाचन ३० वैशाखमा हुँदैछ । निर्वाचन आयोगले बिहीबार आचारसंहिता प्रकाशित गर्दै आफ्नो नाममा पेस्की वा बेरुजु भएका स्थानीय तहका पदाधिकारी उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ । त्यस्तै जनप्रतिनिधि उम्मेदवार बन्न नपाउने, उम्मेदवारीअघि राजीनामा दिनुपर्ने व्यवस्था पनि कायम गरिएको छ ।