राजनीतिक दललाई चुनावको चटारो, फेरिएन खुट्टा तान्ने प्रवृति

राजनीतिक दललाई चुनावको चटारो, फेरिएन खुट्टा तान्ने प्रवृति

चुनावमा गठबन्धनसहित जाने प्रचण्ड, माधव र देउवाको दाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टक खाती, काठमाण्डु- राजनीतिक दलहरू हाल स्थानीय तहको निर्वाचनको तयारीमा होमिएका छन् । स्थानीय तहको निर्वाचन नजिकिएसँगै प्रमुख राजनीतिक दलहरु आफ्नो पार्टीको प्रचार प्रसारमा जुटेका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवाद र नेकपा एमालेका शीर्ष नेताहरु विभिन्न जिल्ला पुगेर चुनावी कार्यक्रम गर्न थालेका छन् ।

पछिल्लो समय गाउँ गाउँमा नेता तथा कार्यकर्ताको चहलपहल ह्वात्तै बढेको छ । गाउँमा नेता र कार्यकर्ताको चहल पहल मात्रै होइन पार्टीका झन्डाले गाउँ नै रङ्गिन हुन् थालेका छन् । आफ्ना पार्टीका उम्मेदवार जिताउन दलहरूले गाउँ केन्द्रित चुनावी अभियान सुरु गरेका छन् । संघीयता लागू भइसकेपछि दोस्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा मत आफ्नो पक्षमा पार्न दलहरूले गाउँ-गाउँमा पुगेर भेला, सभा तथा कार्यक्रम थालेका हुन् ।

 मतदाता रिझाउन नेता–कार्यकर्ताहरू महत्त्वाकाङ्क्षी योजनासहित स्थानीय स्तरमा खटिएका छन् । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस ‘घर घर जाऔं कांग्रेस जिताऔं’ अभियानमा जुटेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पनि चुनावी अभियानमा होमिएको छ । यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि आफ्ना नेता कार्यकर्तालाई भूगोल केन्द्रित गर्नमा जुटेको छ ।

एक अर्काको खुट्टा तान्ने प्रवृति उस्तै

पछिल्लो समय राजनीतिक दलहरु पार्टीको प्रचार प्रसारमा मात्र लागेका छैनन् विपक्षी दलको कटाक्ष गर्नमा पनि उत्तिकै माहिर भएका देखिन्छन् । विपक्षी दलका कार्यकर्ता र जनप्रतिनिधिलाई पार्टीमा भित्र्याउन होडबाजी नै चलेको छ । कतिपय ठाउँमा उम्मेदवारको दाबी गर्दै पार्टी फेर्ने क्रम पनि बढेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेकोविरुद्धमा भाषण ठोक्न थालेका छन् भने यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि देउवा, प्रचण्ड र माधव नेपालकोविरुद्धमा बोलि रहेका छन् ।

हुन त यो राजनीतिक दलहरूले चुनाव नजिक आएपछि जनताको मन जित्नको लागि एकले अर्काको खुट्टा तान्ने प्रवृती भने कुनै नयाँ कुरा होइन । संघीयता लागू भइसकेपछि दोस्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचन अन्तर्गत पनि राजनीतिक दलहरूमा खुट्टा तान्ने प्रवृतीले प्रवेश गरेको मात्रै हो । विपक्षी दलका कार्यकर्ता र जनप्रतिनिधिलाई आफ्नो पार्टीमा भित्र्याउनको लागि यी शीर्ष नेताहरूले एक अर्काको कुरा काटिरहेका हुन् । प्रचण्डले प्रगतिको मुख्य संवाहक माओवादी नै रहेछ भनेर जनताले गहिरो रियलाइजेसन गरेको बताए।

कास्कीको पोखरामा आइतबार प्रेस सेन्टरले आयोजना गरेको कार्यक्रममा उनले जनताको हितमा काम गरेकाले माओवादी पहिलो दल बन्ने दावी गरेका हुन् । ‘२०६४ सालमा आउँदा पनि कसैले माओवादीले चुनाव जित्छ भन्न सकेको स्थिती थिएन, देशभरबाट ५, १० सीट ल्याउँछ भन्थे । जनताले यथार्थ के हो भन्ने देखाइदिएका थिए,’ प्रचण्डले भने, ‘अब २०७९ सालका चुनावमा पहिलो पार्टी बन्ने सम्भावना छ । बीचमा गल्ती गरेछौँ भनेर जनतामा रियलाइजेसन भएको छ । हामी सधै प्रतिगमनकाविरुद्धमा आवाज उठाउने नै छौँ । त्यो सारा जनतालाई थाहा भएको कुरा हो ।’

माधव नेपालले पनि नेकपा एमालेलाई चुनावमा धुलो पिठो बनाउने बताएका छन् । ‘हामी एक नम्बरमा छौँ, नेकपा माओवादी केन्द्र दुई नम्बरमा छ, नेपाली कांग्रेस तिन नम्बरमा छ । केपी ओलीको पार्टी त खतम । हामीले जनताको लागि काम गरेका छौँ । अबको चुनावमा नेकपा एमाले त खतम हुन्छ । ’, माधव नेपालले काठमाण्डुमा आयोजित एक कार्यक्रममा भनेका थिए ।

यता अध्यक्ष ओलीले भने पाँच दलीय गठबन्धन मिलेर आए पनि नेकपा एमालेले नै चुनाव जित्ने दावी गरेका छन् ।  शनिबार नेकपा एमाले सम्पर्क समन्वय कमिटीद्वारा काठमाण्डुमा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी केन्द्रको अहिलेको हैसियत एमालेले बनाइदिएको बताए । ‘प्रचण्डजी तपाईं हामीले बनाइदिएको भाँडो हेरेर बसिरहनुभएको छ । त्यसभित्रको त सकिसकेको छ । मेयर उपमेयरदेखि जनप्रतिनिधि र नेताहरू एमालेमा प्रवेश गरेको लस्कर देख्नुभएको छैन ?’ अध्यक्ष ओलीले भने ।

उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) अझै दल बन्न नसकेको बताए । ‘अर्को पार्टी बनेको छैन, बन्दैबन्दैन । ’ उनले भने, ‘माधव नेपाल हामीले टाँसी दिएका जुँगामा ताउ लगाइरहेका छन् । त्यसैगरी इलाममा आयोजित कार्यक्रममा बोल्दै आलीले ओलीले पछिल्लो समय पार्टी प्रवेशको लहर जागेको बताएका छन् ।  ‘म जहाँ गयो त्यहींका  मेयर, गाउँपालिका प्रमुख, एमालेमा प्रवेश गरिरहेका छन् । उनीहरूको पार्टीले राम्रो गरेको भए किन एमाले प्रवेश गर्नेथिए ? अहिले पार्टी प्रवेशको लहर नै लागेको छ ।’ अध्यक्ष ओलीले भने  ।

चुनावमा गठबन्धनसहित जाने प्रचण्ड, माधव र देउवाको दाउ

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी स्थानीय तहको निर्वाचनमा एक्लै जान डराइरहेका छन् । प्रचण्ड माधव एक्लै निर्वाचनमा गए पराजय व्यहोर्नु पर्ला भन्ने डरले निर्वाचनमा एक्लै जान डराइ रहेका हुन् ।  स्थानीय तहको  निर्वाचनमा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच हुनेछ । त्यस कारण स्थानीय तहको निर्वाचनमा प्रचण्ड-माधव कांग्रेससँग गठबन्धन गर्न चाहन्छन् । स्रोतका अनुसार प्रचण्ड-माधव नेपालले पटक पटक प्रधानमन्त्री देउवासँग स्थानीय तहको निर्वाचनमा मिलेर जान प्रस्ताव गर्दै आइरहेका छन् ।

उसो त यी दुबै अध्यक्षले गठबन्धन कायम राख्नकै लागि एमसीसी पास गर्न सहयोग गरेका थिए ।  प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न सहयोग नगरे नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्री बर्खास्त गर्ने चेतावनी दिए पछि प्रचण्ड-माधव एमसीसीको पक्षमा खुलेका थिए । ‘ एमसीसीको पक्षमा नउभिएको भए देशमा संकट आउथ्योँ । यो गठबन्धन फुट्ने थियो । त्यसैले एमसीसी पास गर्न सहयोग गयौँ ।’ एमसीसी अनुमोदन भएपछि प्रचण्डले भनेको थिए ।

हाल पनि प्रचण्ड र माधव नेपालले स्थानीय तहको चुनावमा मिलेर जान प्रधानमन्त्री देउवालाई फकाइरहेका छन् । ‘ जहाँसम्म हामी गठबन्धनसहित चुनावमा जाने प्रयास गर्ने छौँ । यदी भएन भने पनि नेपाली कांग्रेस बाहेकको गठबन्धन बन्ने छ ।’  माधव नेपालले काठमाण्डुमा आयोजित एक कार्यक्रममा भनेका थिए ।

यता प्रधानमन्त्री देउवा पनि पछिल्लो समय स्थानीय तहको निर्वाचनमा गठबन्धनसँग तालमेल गर्ने पक्षमा देखिएका छन् । नेपाली कांग्रेसका नेताहरूले एक्लै चुनाव लड्ने बताउँदै आए पनि प्रधानमन्त्री देउवा भने गठबन्धनसँग तालमेल गर्ने पक्षमा उभिएका हुन् ।  प्रधानमन्त्री देउवाले गठबन्धनमा आवद्ध दलहरुको सहयोग अगामि दिनमा पनि आवश्यक रहेको बताउँदै कसैप्रति पनि नराम्रो ब्यवहार नगर्न नेताहरुलाई आग्रह गरेका छन् ।

 ‘गठबन्धनका साथीहरूलाई बोलीव्यहारबाट कुनै पनि किसिमको हानि तथा चिढ्याउने काम नगरौं । आगामी सरकार पनि बनाउनुपर्ने हुन सक्छ । हामीले सबैको सहयोग लिएर अगाडि बढ्नुपर्छ, एक्लै चुनाव लड्दाको अवस्था के थियो । एक्लै बहुमत ल्याउन सकिँदैन कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने अवस्था छ ।’ पर्साको वीरगञ्जमा एक कार्यक्रममा देउवाले भनेका थिए ।