काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज मधेस प्रदेशको राजधानी जनकपुर जाँदैछन् । चुनाव केन्द्रित कार्यक्रमको विषयमा प्रशिक्षण दिन र अगुवा कार्यकर्तासँगको भेटघाटका लागि अध्यक्ष प्रचण्ड जनकपुर जान लागेका हुन् ।
जनकपुरधाममा पहिलोपटक प्रशिक्षण कार्यक्रम गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ । मङ्गलवार १२ बजे जनकपुरको तिरहुत्तियामा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता, कार्यकर्तालाई स्वागत गर्ने कार्यक्रम रहेको छ भने अध्यक्ष प्रचण्डले मधेस प्रदेशका नेता, कार्यकर्तालाई बेग्लाबेग्लै भेट्ने कार्यक्रमसमेत रहेको छ ।
मधेस प्रदेशका विभिन्न जिल्लाबाट सहभागी अगुवा नेता, कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रममा अध्यक्ष प्रचण्डको साथमा नेता नारायणकाजी श्रेष्ठ पनि रहनेछन् । कार्यक्रममा २ हजार ५ सय जना नेता–कार्यकर्ता सहभागी हुने बताइएको छ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्रले देशका भौगोलिक सात प्रदेश र पार्टीगत थप तीन प्रदेश गरेर दसवटै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण सञ्चालन गरिरहेको छ । हाल अध्यक्ष प्रचण्ड नेता कार्यकर्तालाई प्रशिक्षण दिन र भेटघाटका लागि देश दौडाहामा छन् ।




प्रतिक्रिया