मैले व्यापार घाटा बढाएको होइन, बरु एमसीसी पास गरेपछि पैसा आएको छ : देउवा

मैले व्यापार घाटा बढाएको होइन, बरु एमसीसी पास गरेपछि पैसा आएको छ : देउवा

नेकपा एमाले कमजोर छ भन्नु झुटा हो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवाले व्यापार घाटा आफूले नबढाएको बताएका छन् । तर, बढ्दो व्यापार घाटाको क्षतिपूर्ति अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बाट लिने सकिने उनले बताएका हुन् ।

शनिबार बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीका कारण थप आर्थिक सहयोग आउने दावी पनि गरेका छन् ।

‘‘केहीले व्यापार घाटाका कुरा गर्नु भयो, मैले व्यापार घाटा बढाएको हो र ? बरु एमसीसी पारित गरेपछि पैसा आएको छ, अब व्यापार घाटा कम हुनेछ,’ देउवाले भने, ‘एमसीसी पारित भएको छ, अब आर्थिक सहयोग धेरै आउँछ ।’ प्रधानमन्त्री देउवाले चुनावमा गठबन्धन कायमै गरेर जानु पर्ने पुनः दोर्होयाएका छन् ।

देउवाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र निर्वाचनमा मिलिदिए के गर्ने ? भनेर प्रश्न गरेका छन् । पाँच दलीय गठबन्धन कायमै गरेर जानु पर्ने अडान राख्दै आएको बेला पार्टी भित्रबाटै गठबन्धन नगर्न दबाब बढीरहेको बेला सभापति देउवाले गठबन्धनका विपक्षीहरूलाई यस्तो प्रश्न गरेका हुन् ।

‘पार्टी सभापतिको हैसियत त पार्टीले जितोस, नेताहरू सबैले जितुन भन्ने नै रहन्छ, त्यसका लागि जे पनि लागि पर्ने हुन जान्छ,’ देउवाले भने, ‘निर्वाचनमा एमाले र माओवादी फेरि मिलेर चुनावमा गए भने के हुन्छ ? फेरि पार्टीलाई हराउने ?’ विगतमा कांग्रेस पार्टीले पराजय भोग्नु परेको उल्लेख गर्दै देउवाले पार्टी र पार्टीका नेतालाई जिताउनका लागि आफूले गठबन्धन गर्न खोजेको तर्क गरेका छन् ।

त्यसैगरी उनले कांग्रेसमा हिजो पनि गुट रहेको र आज पनि गुटमुक्त नहुने भन्दै स्थानीय चुनाव सजिलो नभएको बताएका छन् । कांग्रेसले भन्दा धेरै एमाले र माओवादीले जितेको भन्दै उनले कमसेकम त्यहाँ मिलेर लड्नुपर्ने बताएका छन् । उनले भने, ‘ओली कमजोर छ भन्नु झुटा हो । ओलीजीको पार्टी धेरै बलियो छ । ’