चिनियाँ विदेशमन्त्रीको राजनीतिक भेटघाट : कुन नेतासँग के भयो कुराकानी ?

चिनियाँ विदेशमन्त्रीको राजनीतिक भेटघाट : कुन नेतासँग के भयो कुराकानी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – तीन दिने भ्रमणका लागि नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यी आज स्वदेश फिर्ता भएका छन् । तिन दिने काठमाण्डु बसाईका क्रममा विदेशमन्त्री यीले आइतबार विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरेका छन् ।

आइतबार बिहानैदेखि भेटघाटमा सक्रिय रहेका चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, लगायतका नेताहरुसँग भेटवार्ता गरेका हुन् ।

शुक्रबार काठमाण्डु ओर्लिएका उनले शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए । त्यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो । सोही क्रममा नेपाल र चीनबीच विभिन्न नौ बुँदे समझदारी गरिएको थियो ।

भेटवार्ताका क्रममा विभिनन दलका शीर्ष नेताहरुले दुई देशबीचको मैत्री सम्बन्धका बारेमा चर्चा गरेका थिए भने बीबआरआई अन्तरगतका परियोजना अघि बढाउन पहल गर्ने, नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने लगायतका विषयमा छलफल गरेका थिए ।

राष्ट्रपति र वाङ भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटवार्तामा उनीहरूबीच युगौँ पुरानो नेपाल–चीन मैत्रीबारे विचारविमर्श भएको थियो । ऐतिहासिक कालदेखिको नेपाल र चीनबीचको असल सम्बन्ध र यस्ता खाले उच्चस्तरका भ्रमणले बहुआयामिक दुई पक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छन् । साथै उनले नेपालको सामाजिक–आर्थिक विकासमा चीनले निरन्तर सहयोग गर्दै आएकामा हार्दिक कृतज्ञता व्यक्त गरेकी छन् ।

केपी ओली-वाङ भेटवार्ता

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बेल्ट एण्ड रोड (बीआरआई) अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडि बढाउन चीन सरकारलाई आग्रह गरेका छन् ।

भेटवार्ताका क्रममा कोरोनाका कारण प्रभावित भएका चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनका क्रममा रहेका नेपाली विद्यार्थीलाई सहज रुपमा फर्कने वातावरण बनाइदिन समेत आफूहरुले आग्रह गरेको एमाले नेता राजन भट्टराईले जानकारी दिए । अध्यक्ष ओलीले दुई देशबीचको मैत्री सम्बन्धका बारेमा चर्चा गर्दै नेपालको भूमिमा चीन विरोधी गतिविधि हुन नदिने प्रतिवद्धता समेत दोहोर्याएका छन् ।

कोरोना कहरका समयमा चीन सरकारका तर्फबाट नेपाललाई उपलब्ध गराइएको सहयोगप्रति एमालेले धन्यवाद समेत दिएको छ । तातोपानी र रसुवागढी नाकाको नियमित सञ्चालनका लागि समेत एमालेले विदेशमन्त्री वाङसँग आग्रह गरेको छ । एमालेले गरेको आग्रहलाई विदेशमन्त्री वाङले सकारात्मक रुपमा लिँदै नेपालको विकास र समृद्धिका लागि सहयोग गर्न आफूहरु तयार रहेको प्रतिवद्धता जनाएका छन् ।

विआरलगायतका परियोजनासँग जोडिएका विषयलाई अगाडि बढाउन र त्यसलाई नियमित गर्न चीन सरकारका तर्फबाट सहयोग रहने विदेशमन्त्री वाङको भनाइ थियो ।

प्रचण्ड-वाङ भेटवार्ता

विदेशमन्त्री वाङसँगको भे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेल्ट एण्ड रोड (बीआरआई) अवधारणा अन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन अनुरोध गरेका छन् ।

प्रचण्डले नेपालको आर्थिक र सामाजिक विकासका लागि महत्वपूर्ण मानिएका ती आयोजना समयमा अगाडि बढ्दा त्यसले सकारात्मक प्रभाव पर्ने भन्दै त्यसका लागि पहल गरिदिन विदेशमन्त्री यीमार्फत चीन सरकारलाई आग्रह गरेका हुन् ।

भेटवार्तामा कोरोना महामारीका कारण लामो समयदेखि नियमित हुन नसकेको तातोपानी र रसुवागढी नाकालाई सहज रुपमा सञ्चालन हुने वातावरण बनाइदिन आफूहरुले चिनियाँ विदेशमन्त्रीको ध्यानकर्षण गराएको माओवादी नेता शक्ति बस्नेतले जानकारी दिए ।

नेपालको आर्थिक विकाससँग जोडिएको बीआरआई र चीनका तर्फबाट प्रतिबद्धता जनाइएका परियोजना अगाडि बढ्छ भन्नेमा आफूहरु विश्वस्त रहेको अध्यक्ष प्रचण्डको भनाइ थियो । अध्यक्ष प्रचण्डले दुई देशबीचको मैत्री सम्बन्धका बारेमा चर्चा गर्दै नेपालको भूमिमा चीन विरोधी गतिविधि हुन नदिने प्रतिवद्धता समेत दोहोर्याएका छन् ।

माओवादी शीर्ष नेतृत्वको आग्रहलाई सकारात्मक रुपमा लिँदै चिनियाँ विदेशमन्त्रीले नेपालको आर्थिक एवं सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले नजिकको छिमेकी र परम्परागत मैत्री सम्बन्ध भएकाले पनि नेपालको चासो र विकास प्रतिको तीव्र इच्छालाई चीन सरकारले सदैव समर्थन गर्दै सहयोग गरेको र त्यो निरन्तर रहने बताएका थिए ।

शीर्ष नेताहरुको भेटवार्ताका क्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल लगायतका नेता सहभागी थिए भने माओवादीका नेताहरु नारायणकाजी श्रेष्ठ, नेता शक्ति बस्नेत, अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्ल लगायतको सहभागिता थियो ।