कांग्रेसभित्र चुनावी गठबन्धनबारे जुहारी, दुई महामन्त्रीको मत बाझियो

कांग्रेसभित्र चुनावी गठबन्धनबारे जुहारी, दुई महामन्त्रीको मत बाझियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका दुईजना महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माबीच चुनावी गठबन्धनलाई लिएर मत बाझिएको छ ।सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री थापाले चुनावी तालमेल गर्न नहुने बताए भने अर्का महामन्त्री शर्माले आवश्यकता हेरेर गठबन्धन गर्नुपर्ने बताएका छन् ।

‘म गठबन्धनको पक्षमा छैन । गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न सकिँदैन । देशभरका लाखौँ मतदातालाई रुखबाहेक अन्यत्र भोट हाल्न भन्ने हो भने तिनले भविष्यमा रुखमै भोट हाल्छन् भन्ने के ग्यारेन्टी ? अहिले हँसिया हथौडा र कलममा भोट हालेको मतदाताले अर्को चुनावमा रुखमा भोट हाल्ला त ?,’ थापाको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने । उनले कम्युनिष्टबाट लोकतन्त्र खतरामा रहेकोसमेत बताए ।

यता, शर्माले स्थानीय तहको निर्वाचनमा आवश्यकता हेरेर गठबन्धन सम्बन्धमा निर्णय गर्नुपर्ने बताए । ‘विगतको नतिजाको पनि विश्लेषणका आधारमा तालमेल आवश्यक रहेको छ ।’ शर्माले भने ।  यसअघि बोलेका शेखर कोइरालाले पनि चुनावी तालमेल गर्न नहुने बताएका थिए । कोइराला पक्षका नेताहरूले गठबन्धन गर्न नहुने बताउँदै आएका छन्।

नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पनि चुनावी गठबन्धनको पक्षमा उभिएका छन् । पौडेलले एमालेलाई साइजमा राख्न पनि आगामी निर्वाचनसम्म गठबन्धन आवस्यक भएको बताए । सोमबार बसेको बैठकमा बोल्दै नेता पौडेलले एमालेलाई साइजमा राख्न पनि निर्वाचनसम्म गठबन्धन कायम राख्नुपर्ने बताएका हुन् ।

‘हामीले माओवादी र एकीकृत समाजवादीको अलिकति मत थपिदिएर एमालेलाई साइजमा राख्ने अवसर आएको छ’, पौडेलले भने, ‘संविधानलाई जोगाउन सत्ता गठबन्धन गरिएको हो । हाम्रो मुख्य लडाइ एमाले र केपी ओलीसँग हो ।’
नेता पौडेलले एक्लाएक्लै चुनावमा जान सक्ने अवस्था नरहेको विश्लेषण सुनाएका थिए ।

यता प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने अडान राख्दै आइरहेका छन् । देउवाले यदि नेपाली कांग्रेसले एक्लै चुनाव लडे नेकपा माओवादी केन्द्र र नेकपा एमालेले चुनावमा तालमेल गर्ने दावी गरेका छन् । अब स्थानीय तहको निर्वाचनमा कसरी जाने भन्नेबारे कांग्रेसले मंगलबार टुंगो लगाउने भएको छ ।