राष्ट्रपति भण्डारीबाट झलनाथ खनालसहित विभिन्न व्यक्तिलाई विभूषण प्रदान

राष्ट्रपति भण्डारीबाट झलनाथ खनालसहित विभिन्न व्यक्तिलाई विभूषण प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले गत असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएको मानपद्वी एवम् विभुषण प्रदान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज शीतल निवासमा आयोजित समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनको पनि उपस्थितिमा उक्त मानपदवी र विभूषण प्रदान गरेकी हुन् ।

यो वर्ष नेपाल रत्न, राष्ट्र गौरव, महाउज्ज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रबल जनसेवाश्री, उज्ज्वल कीर्तिमय राष्ट्रदीप, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री र जनसेवाश्री गरी ११ वटा मानपद्वी र विभुषण प्रदान गरिएको छ ।

आज पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईले मरणोपरान्त नेपाल रत्न, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष सुवर्णशमशेर राणाले मरणोपरान्त राष्ट्र गौरव प्राप्त गरेका छन् ।

त्यसैगरी पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव, तुल्सीलाल अमात्य, मङ्गलादेवी सिंह, दुर्गानन्द झा, नारायणगोपाल गुरुवाचार्यलाई मरणोपरान्त र निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र मोहनचन्द्र अधिकारीलाई महाउज्ज्वल राष्ट्रदीप विभूषण प्रदान गरिएको छ ।

त्यस्तै सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रदीप नेपाल, मरणोपरान्त पोष्टबहादुर बोगटी र मार्शलजुलुम शाक्यलाई दिइएको छ । उज्ज्वल कीर्तिमय राष्ट्रदीप विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रदान गरिएको हो ।

प्रसिद्ध प्रवल जनसेवाश्री ३९ जनालाई, सुकीर्तिमय राष्ट्रदीप २८ जनालाई, सुप्रवल जनसेवाश्री १५८ जनालाई, कीर्तिमय राष्ट्रदीप ७ जनालाई, प्रवल जनसेवाश्री ३१३ जनालाई र जनसेवाश्री १८५ जनालाई प्रदान गरिएको छ ।

उता गृह मन्त्रलायले वितरण गर्ने गरि आठ वटा अलंकार १०७ जनालाई र छ वटा पदक ३७ जना सुरक्षाकर्मीलाई आजै प्रदान गर्ने बताइएको छ ।